पोखरा,
कत्तिक १७ ।
गौतम वंशको इतिहास, पुर्ख्यौली पहिचान, मौलिक परम्परा तथा वंशावली संरक्षण गर्दै विश्वभर छरिएर रहेका गौतम बन्धुहरूलाई एकताबद्ध गर्ने उद्देश्यले पोखरामा आयोजित एकदिने प्रादेशिक अन्तरक्रिया, कार्यशाला तथा गोष्ठीले ६ बुँदे ‘राष्ट्रिय घोषणापत्र-पोखरा, २०८३’ जारी गरेको छ ।
गौतम बन्धु राष्ट्रिय समाज केन्द्रीय कार्यालयको आयोजना तथा गण्डकी प्रदेश समन्वय समितिको सहआयोजनामा सम्पन्न कार्यक्रममा डिजिटल वंशावली संरक्षण, विधान संशोधन, संस्थागत सुदृढीकरण, पारदर्शिता र विभिन्न गौतम संस्थाबीच एकता तथा सहकार्यलाई प्राथमिकता दिइएको छ ।
गण्डकी प्रदेश समन्वय समितिका अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष शोभाकर गौतम प्रमुख अतिथि तथा प्राध्यापक डा. कृष्णप्रसाद गौतम विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन प्रदेश सचिव सूर्यप्रसाद गौतम ‘अनिश’ले गर्नुभएको थियो ।
कार्यशालामा समाजका केन्द्रीय पदाधिकारी, सातै प्रदेशका अध्यक्ष, सचिव तथा प्रतिनिधि, जिल्ला अध्यक्ष, सल्लाहकार, कानुनी सल्लाहकार, बौद्धिक व्यक्तित्व तथा अग्रजहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा गौतम वंशको ऐतिहासिक पहिचान संरक्षण, संगठनात्मक संरचना सुदृढीकरण, डिजिटल वंशावलीको अद्यावधिक, विधान संशोधन तथा आर्थिक र प्रशासनिक पारदर्शिताका विषयमा व्यापक छलफल भएको थियो । छलफलका क्रममा समाजको संस्थागत संरचनालाई व्यवस्थित र प्रभावकारी बनाउन विधान संशोधनसम्बन्धी प्रस्तावसमेत पारित गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमबाट जारी घोषणापत्रमा डिजिटल वंशावलीको संरक्षण तथा अद्यावधिक, विधान संशोधन, संस्थागत कार्यविधि निर्माण र कार्यान्वयन, भावी कार्यक्रम तथा कार्ययोजना निर्माण, संस्थागत एकता र विभिन्न गौतम संस्थाबीच समायोजन तथा सहकार्यलाई मुख्य प्राथमिकताका रूपमा समेटिएको छ । घोषणापत्रमार्फत गौतम बन्धुहरूको साझा इतिहास, सांस्कृतिक पहिचान र पुर्ख्यौली सम्पदाको संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
यसैगरी, गोतामकोटमा निर्माणाधीन महर्षि अत्रि स्तम्भको बाँकी निर्माण कार्य सम्पन्न गर्ने तथा यसको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वबारे व्यापक प्रचारप्रसार गर्ने संकल्प गरिएको छ। नेपालका सातै प्रदेशमा महर्षि अत्रि स्तम्भ निर्माणका लागि आवश्यक पहल गर्ने विषय पनि घोषणापत्रमा समावेश गरिएको छ ।
कार्यक्रममा विभिन्न प्रदेश तथा केन्द्रीय कार्यालयले संस्थागत पहिचान झल्किने सामग्री उपलब्ध गराएका थिए । केन्द्रीय कार्यालयले समाजको लोगो अंकित झोला, कोशी प्रदेशले लोगो अंकित टोपी, कर्णाली र बागमती प्रदेशले पहिचान झल्किने मायाको चिनो तथा लुम्बिनी प्रदेशले स्टेशनरी सामग्रीको व्यवस्था गरेका थिए ।
आयोजकले कार्यक्रमले देशका विभिन्न प्रदेशमा रहेका गौतम बन्धुहरूबीच आपसी समन्वय, सहकार्य र संगठनात्मक सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।
‘एकता हाम्रो शक्ति, इतिहास हाम्रो पहिचान, पारदर्शिता हाम्रो आधार र भावी पुस्ताको समृद्धि हाम्रो साझा लक्ष्य’ भन्ने संकल्पसहित कार्यक्रम सम्पन्न भएको हो ।







