काठमाडौं । यही कात्तिक २० गते शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर-२ सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र र उनीहरूको भूमिकालाई प्रस्तुत गरिएको छ । ट्रेलरको केन्द्रमा अभिनेता हरिवंश आचार्य देखिनुभएको छ । महाभारतका युधिष्ठिरको चरित्रबाट प्रेरित उहाँको पात्र पृथ्वीमा रहेका आफ्ना भाइहरू दुःख र समस्यामा परेको थाहा पाएपछि पृथ्वीलोकमा आइपुग्छ । त्यसपछि उहाँ समस्यामा परेका भाइहरूलाई उद्धार गर्ने अभियानमा जुट्छनुहुन्छ ।
हरिवंशले भीम, अर्जुन, सहदेव लगायतका नाम दिएर चार भाइ बनाएको र उहाँहरूसँग मिलेर अन्याय तथा सामाजिक विकृतिविरुद्ध संघर्ष गरेको दृश्य ट्रेलरमा समेटिएको छ । समस्यामा परेका व्यक्तिहरूको सहयोगी र उद्धारकर्ताका रूपमा प्रस्तुत उहाँको चरित्रले सभ्य समाज निर्माणको सन्देश दिन खोजेको देखिन्छ ।
ट्रेलरमा क्यासिनोमा छोटा कपडा लगाएकी युवतीलाई देखेपछि हरिवंशले उनको शरीर ढाकिदिएको दृश्य पनि छ । यसले समाजमा नैतिकता, सभ्यता र सकारात्मक सोचको आवश्यकतालाई संकेत गर्छ । अन्याय, हिंसा र अत्याचारविरुद्ध पाँच भाइले गर्ने संघर्ष तथा विद्रोहलाई चलचित्रको मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ ।
वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला लगायतका कलाकार मुख्य भूमिकामा हुनुहुन्छ । त्यस्तै, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री) लगायतको पनि अभिनय रहेको छ चलचित्रमा ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुनुहुन्छ । उहाँले गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गर्नुभएको थियो । चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुनुहुन्छ ।
चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेख्नुभएको हो । पौडेलले ‘पाँच पाण्डव’लाई सामाजिक कथावस्तुमा आधारित सोसल ड्रामा बताउनुभएको छ । उहाँका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा चलचित्रमा प्रस्तुत गरिएको छ ।
प्राविधिक पक्षलाई समेत विशेष ध्यान दिइएको चलचित्रमा दर्शकले डल्बी एटमस साउन्डको अनुभव लिन पाउने निर्माण टिमले जनाएको छ ।







