काठमाडौं,
कत्तिक १७ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२ः३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो खेल साँझ ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बीच प्रतिस्पर्धा हुनेछ ।
तीन खेल खेलिसकेको विराटनगरले एउटा मात्र खेल जितेको छ । आफ्नो चौथो खेलमा विराटनगर दोस्रो जितका लागि मैदानमा उत्रने तयारी छ ।
उता जनकपुर बोल्ट्सले पनि तीन खेल खेलिसक्दा एकमा हार बेहोरेको छ भने दुई खेलमा विजयी भएको छ । आज जनकपुर लगातार तेस्रो जितको खोजीमा छ ।
त्यस्तै आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । अपराजित लुम्बिनी लायन्सले दुई खेलमा एक खेलमा जित निकालेको छ भने अर्को खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।
त्यस्तै पोखरा एभेन्जर्सले दुई खेल खेलिसक्दा पनि जित निकाल्न सकेको छैन । दुई खेलमा पराजित पोखरा एभेन्जर्स तेस्रो खेलमा जित्नै पर्ने दबाबमा छ । सोमबार भएको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई हराएको थियो भने सुदूरपश्चिम रोयपल्ससँग चितवन राइनोज पराजित भएको थियो ।







