काठमाडौं,
कात्तिक १३ ।
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भएको चलचित्र ‘चिरञ्जीवी भवः’को स्वरांकन (डबिङ)सुरु भएको छ । निर्माणपक्षका अनुसार बिहीबारदेखि पोस्ट प्रोडक्सनको काम अघि बढाइएको हो । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अभिनेता हरिवंश आचार्यले आफ्नो संवाद रेकर्ड गराउँदै स्वरांकनको सुरुवात गर्नुभएको छ । निर्देशक आचार्यले चलचित्र निर्माणमा गुणस्तरमा सम्झौता नगरिएको बताउँदै पोष्ट प्रोडक्सनमा पनि उत्तिकै मिहिनेत गरिने बताउनुभयो ।
सामाजिक विषयवस्तुमा आधारित यो चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता र पारिवारिक सम्बन्धको कथा प्रस्तुत गर्नेछ । चलचित्रमा हरिवंशसँगै करिस्मा मानन्धर, आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत कलाकारको अभिनय छ । प्रशंसाले यही चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दै हुनुहुन्छ ।
कुमार कट्टेल ‘जिग्री ब्रो’को कथा रहेको चलचित्रको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पार्नुभएको हो । उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रको छायांकन धनकुटा, सुनसरी र काठमाडौंमा गरिएको थियो ।
निर्देशक आचार्यको अघिल्लो चलचित्र ‘परान’ व्यावसायिक रूपमा सफल भएको थियो । त्यसैले ‘चिरञ्जीवी भवः’प्रति पनि दर्शकको चासो रहने अपेक्षा गरिएको छ । चलचित्रले आगामी २०८३ माघ १ गतेदेखि प्रदर्शन मिति तय गरेको छ । यसको वितरण आरआर फिल्मस्ले गर्नेछ ।







