कीर्तिमानी डा. उपाध्यायलाई भारतमा ‘अन्तर्राष्ट्रिय उत्कर्षश्री’ अवार्ड

काठमाडौं,
असोज २८ ।

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई ‘अन्तर्राष्ट्रिय उत्कर्षश्री’ अवार्ड प्रदान गरिएको छ । भारतको जयपुरमा आयोजित विशेष समारोहमा डा. उपाध्यायलाई उक्त अवार्ड प्रदान गरिएको हो । त्यहाँका मन्त्री, सांसद र विशिष्ठ व्यक्तित्वहरूको उपस्थितिमा उक्त अवार्ड प्रदान गरिएको थियो ।

डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

यस्तै, डा. उपाध्यायलाई हालै किर्गिस्तानस्थित आईएलपीएमएस विश्वविद्यालयले मानार्थ ‘डाक्टर अफ ह्युमन लेटर्स (डीएचएल)’ उपाधिबाट सम्मान गरिएको छ । विश्व विद्यालयका प्रतिनिधि र अन्य प्रतिष्ठित अतिथिहरूले डा. उपाध्यायलाई उक्त मानार्थ विद्यावारिधी प्रदान गरेका थिए ।

समाजशास्त्रमा सन् २००० मा विद्यावारिधि गरेका डा. उपाध्यायलाई यसअघि विभिन्न नौ विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरिसकेका छन् । आईएलपीएमएस विश्वविद्यालयबाट प्राप्त उपाधि उहाँको दशौं मानार्थ विद्यावारिधि हो । यसअघि अमेरिका लगायत विभिन्न देशका विश्वविद्यालयबाट उनलाई मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो ।

गीतसंगीत तथा साहित्यका विभिन्न विधामा सक्रिय डा. उपाध्यायले हालसम्म १५३ वटा विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँका १७ भन्दा बढी उपन्यास, तीन गीति पुस्तक तथा ३६ वटा एल्बम प्रकाशित तथा सार्वजनिक भइसकेका छन् । उहाँका करिब दुई सय ५० गीत सार्वजनिक भएका छन् भने सयौं गीतका भिडियोसमेत निर्माण भएका छन् । डा. उपाध्यायको पछिल्लो उपन्यास ‘आशक्ति’ तथा कवितासंग्रह ‘अन्तसंस्करण’ रहेको छ भने हालै दुई भजन ‘श्रीराम’ र ‘हरे कृष्ण’ श्रोता/दर्शकमाझ आएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार