काठमाडौं,
असोज २८ ।
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को फाइनलअघि प्रतियोगीहरूले ‘द ग्ल्याम नाइट’ फेशन शोमा र्याम्प वाक गरेका छन् । रिबन इन्टरटेनमेन्टको आयोजनामा भएको शोमा प्रतियोगीहरू ब्राइडल, निभिया र गाउन सिक्वेन्समा प्रस्तुत भएका थिए ।
शोमा अभिनेता राजेश हमाल, रमेश उप्रेती, जितु नेपाल, प्रमोद अग्रहरि, अभिनेत्री रेखा थापा, पूजा शर्मा, सुपुष्पा भट्ट र गायक आनन्द कार्कीलगायतको उपस्थिति थियो । कलाकार राजेश हमाल, रेखा थापा, पूजा शर्मा र सुपुस्पा भट्टले प्रतियोगिताका विजेताले पहिरिने ताज सार्वजनिक गर्नुभएको थियो । गायक आनन्द कार्कीले गीत प्रस्तुत गर्नुभएको थियो भने जितु नेपालले हास्यव्यंग्य प्रस्तुत गर्नुभएको थियो ।
आयोजकका अध्यक्ष निशुकान्त झाका अनुसार फेशन शोले प्रतियोगीहरूलाई आफ्नो प्रतिभा, शैली र प्रस्तुति क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ । ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को फाइनल १४ कात्तिकमा आयोजना हुँदैछ । प्रतियोगितामा २२ जना प्रतिस्पर्धी सहभागी छन् । विजेताले अमेरिकामा आयोजना हुने ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
अश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिताबाट ‘मिसेस नेपाल इन्टरनेसनल’, ‘एमएस इन्टरनेसनल’ र ‘मिसेस कोस्मो’ का विजेतासमेत चयन गरिने आयोजकले जनाएको छ । ती उपाधिका विजेताले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।






