काठमाडौं,
असोज २० ।
उपन्यासकार रूपक अधिकारी ‘फकिर’को नयाँ कृति ‘लाटो क्यानभास’ पविन दाहालको ‘रातो अभिलेख’ र युसन बस्नेतको ‘कुमारित्व’ कृतिको लोकार्पण गरिएको छ । प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा आयोजित कार्यक्रममा कवि तथा उपन्यासकार श्रवण मुकारुङसहित साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको हो ।
कार्यक्रमको सुरुवात कवि तथा उपन्यासकार श्रवण मुकारुङले पानसमा दीप प्रज्वलन गरेपछि स्वस्तिवाचनबाट भएको थियो । मुकारुङ, डा.नवराज केसी, उमा सुवेदी, क्षितिज समर्पण, जे सागरसहितका व्यक्तित्वले संयुक्तरूपमा कृतिहरूको लोकार्पण गर्नुभएको थियो ।
कृतिबारे धारणा राख्दै वक्ताहरूले ‘लाटो क्यानभास’लाई प्रेमको सुन्दर क्यानभासका रूपमा चित्रण गरेका थिए । इतिहासदेखि वर्तमानसम्मका प्रेमका विभिन्न आयामलाई समेट्दै कुनै पनि प्रकारको शोषण स्वीकार्य नहुने सन्देश कृतिले प्रभावकारी रूपमा दिएको उनीहरूको भनाइ थियो ।
वक्ताहरूले कृतिको भाषा र शिल्प दुवै उत्कृष्ट रहेको उल्लेख गर्दै समाजमा अदृश्य रूपमा गढिएको मानसिकता र प्रवृत्तिको चिरफार गर्न उपन्यास सफल भएको बताए । उनीहरूले ‘लाटो क्यानभास’लाई समकालीन नेपाली साहित्यमा अब्बल कृतिका रूपमा चर्चा गरे । लेखक रूपक अधिकारी ‘फकिर’ले आफ्नो मन्तव्यका क्रममा एकोहोरो प्रेम संसारकै शक्तिशाली उदाहरण हुनसक्ने धारणा व्यक्त गर्नुभयो ।






