काठमाडौं,
असोज ५ ।
नेपाली गीत-संगीत, सञ्चार तथा सामाजिक क्षेत्रमा सक्रिय आशा गौतम लामो समयदेखि अस्पतालमा उपचाररत हुनुहुन्छ । अचानक ह्दयघातपछि गम्भीर अवस्थामा उपचार गराउँदै आउनुभएकी गौतमको उपचारमा हालसम्म करिब ६० लाख रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ । थप उपचार र फिजियोथेरापी आवश्यक रहेकाले परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको छ ।
बाग्लुङको जैमिनी गाउँपालिका-८ स्थायी घर हुनुभएकी गौतम गत पुस १४ गते काठमाडौंको बानियाटारमा हृदयघातका कारण बेहोस अवस्थामा भेटिनुभएको थियो । स्थानीयको सहयोगमा उहाँलाई बाँसबारीस्थित न्युरो अस्पताल पुर्याइएको थियो । अवस्था गम्भीर भएपछि अस्पतालले उहाँलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा रिफर गरेको थियो ।
मस्तिष्कमा रगत जमेको पाइएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो । कलाकार साथीहरू, उपमा सञ्चार प्रालिमा आबद्ध सहकर्मी तथा परिवारजनको पहलमा रकम जुटाएर उहाँको टाउकोको गम्भीर शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियापछि लामो समयसम्म बेहोस रहनुभएकी गौतमले त्रिवि शिक्षण अस्पतालमा एक महिनाभन्दा बढी समय उपचार गराउनुभएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि उहाँलाई फिजियोथेरापीका लागि सीतापाइलास्थित दिव्य सञ्जीवनी अस्पतालमा लगिएको थियो । त्यहाँ करिब सात महिना उपचारपछि थप उपचारका लागि हाल उहाँ सुकेधारास्थित होलिस्टिक युनिभर्सल अस्पतालमा उपचाररत हुनुहुन्छ ।
चिकित्सकका अनुसार हाल उहाँको स्वास्थ्यमा केही सुधार भइरहेको छ । यद्यपि, गौतम अझै स्पष्ट रूपमा बोल्न सक्ने अवस्थामा हुनुहुन्छ भने दायाँ हात र दायाँ खुट्टा चलाउन नसक्ने अवस्था रहेको परिवारले जनाएको छ । स्वास्थ्यमा थप सुधार ल्याउन लामो समयसम्म उपचार र फिजियोथेरापी आवश्यक पर्ने भएकाले उपचार खर्च अझ बढ्ने अवस्था रहेको बताइएको छ ।
परिवारका अनुसार हालसम्म उपचारमा लागेको करिब ६० लाख रुपैयाँमध्ये अधिकांश रकम सहयोगी दाता, कलाकार, शुभेच्छुक तथा आफन्तबाट जुटाइएको छ निरन्तर उपचारका लागि थप ठूलो रकम आवश्यक पर्ने भएपछि परिवार आर्थिक संकटमा परेको जनाएको छ।
गौतम कलाकारका रूपमा मात्र नभई सञ्चारकर्मी, कार्यक्रम आयोजक तथा सामाजिक अभियन्ताका रूपमा समेत लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ । उहाँले एनडीबीएसमा काम गर्नुका साथै ‘गल्कोट पत्र’ साप्ताहिक, ‘धौलागिरी गर्जन’ साप्ताहिक तथा ‘धौलागिरी सुकेरा’ मासिकमा रिपोर्टरका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
उहाँ जनसांस्कृतिक महासंघको जिल्ला कार्यसमिति सदस्य, प्रदेश सदस्यहुँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा समेत रहनुभएको थियो । गैरसरकारी संस्था महासंघ, पर्वत शाखामा महिला सदस्यका रूपमा समेत काम गर्नुभएकी गौतम संगीतकर्मी संघ, पर्वतकी जिल्ला अध्यक्षलगायत विभिन्न संघ–संस्थामा आबद्ध भएर कलाकारको हकहित र सामाजिक क्षेत्रमा योगदान दिँदै आउनुभएको थियो ।
उदयमान कलाकारलाई प्रोत्साहन तथा अग्रज स्रष्टालाई सम्मान गर्ने उद्देश्यले उहाँको नेतृत्वमा विभिन्न कार्यक्रमसमेत आयोजना हुँदै आएका थिए । उपमा सञ्चार प्रालिको नेतृत्वमा ‘उपमा स्रष्टा सम्मान’ दुई पटक, ‘मौलिक गण्डकी स्रष्टा सम्मान तथा म्युजिक अवार्ड’ चार पटक, ‘धौलागिरी स्रष्टा सम्मान’, ‘लुम्बिनी स्रष्टा सम्मान तथा म्युजिक अवार्ड’ लगायतका कार्यक्रम सम्पन्न भएका थिए ।
त्यस्तै, ‘तीज विशेष नारी सम्मान-२०८२’ समेत सम्पन्न गर्नुभएकी गौतम ‘सांस्कृतिक राष्ट्रिय संगीत अवार्ड-२०८२’ तथा सुदूरपश्चिम प्रदेशस्तरीय स्रष्टा सम्मान एवं सांस्कृतिक कार्यक्रमको तयारीमा समेत सक्रिय हुनुहुन्थ्यो । कार्यक्रमको तयारीकै क्रममा अचानक हृदयघात भएपछि भने उहाँको सम्पूर्ण ध्यान उपचारमा केन्द्रित भएको छ ।
वर्षौंदेखि कलाकार तथा स्रष्टाको सम्मान, प्रोत्साहन र हकहितका लागि सक्रिय गौतम अहिले आफैँ उपचारका लागि सहयोगको प्रतीक्षामा हुनुहुन्छ । लामो समयसम्म उपचार आवश्यक पर्ने भएकाले परिवार तथा शुभेच्छुकहरूले देश तथा विदेशमा रहेका कलाकार, स्रष्टा, संघ–संस्था, शुभेच्छुक तथा सहयोगी मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् ।
सहयोग तथा सम्पर्क : आशा गौतम- ९८५६०८१४६३






