✍️ अर्जुन प्रधान
अमेरिका ५ असोज
मोतीराम भट्टको १६१औँ जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विश्वका विभिन्न महादेशमा रहेका नेपाली गजलकारलाई एकै मञ्चमा जोड्दै विशेष साहित्यिक कार्यक्रम आयोजना गरेको छ । जुममार्फत सम्पन्न उक्त कार्यक्रमले नेपाली गजलको ऐतिहासिक विरासत, समकालीन चेतना र प्रवासमा फैलिँदै गएको सिर्जनात्मक उपस्थितिलाई प्रभावशाली ढंगले उजागर गरेको हो ।
अनेसास केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौलाले सहजीकरण गरेको कार्यक्रममा एसिया, युरोप, अस्ट्रेलिया र अमेरिकामा सक्रिय गजलकारहरूको सहभागिता रहेको थियो । नेपाली गजलका प्रारम्भिक प्रवर्तक मानिने मोतीराम भट्टप्रतिको श्रद्धाञ्जलिसँगै उहाँको साहित्यिक योगदानको पुनर्स्मरण, गजलसम्बन्धी विमर्श तथा बहुराष्ट्रिय गजल वाचन कार्यक्रमका प्रमुख आकर्षण बने ।
कार्यक्रमको प्रारम्भमा डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले मोतीराम भट्टको जीवन, साहित्यिक यात्रा र बहुआयामिक योगदानमाथि प्रकाश पार्नुभयो । उहाँले नेपाली साहित्यको आधुनिकीकरण, प्रकाशन संस्कृतिको विकास र गजल विधाको प्रारम्भिक आधार निर्माणमा मोतीरामको भूमिका स्मरणीय रहेको उल्लेख गर्नुभयो ।

जर्मनीलाई लामो समयदेखि कर्मभूमि बनाउँदै आउनुभएका खड्ग न्यौपानेले हार्मोनियमको मधुर धुनमा मोतीराम भट्टकै गजल गायन प्रस्तुत गर्दा भर्चुअल सभाकक्षमा विशेष साहित्यिक वातावरण बनेको थियो । गीत तथा गजलविज्ञ एवम् समालोचक प्राडा. कृष्णहरि बरालले मोतीरामद्वारा रचित गजलको गहन विश्लेषण प्रस्तुत गर्दै नेपाली गजलको भाषा, संरचना, भावधारा र ऐतिहासिक विकासक्रमबारे धारणा राख्नुभयो । उहाँको विश्लेषणले गजलप्रेमी तथा नवसर्जकका लागि ज्ञानवर्धक आयाम थपेको सहभागीहरूले बताएका थिए ।
नेपालको प्रतिनिधित्व गर्दै गजल अभियन्ता एवं गीतकार रवि प्राञ्जलले समकालीन संवेदना बोकेका गजल सुनाउनुभयो । अस्ट्रेलियाबाट ब्रिसबेनका डा. केशव शर्मा, पर्थका सन्तोष लम्साल र सिड्नीका जीतेन्द्र मल्लले आ-आफ्ना गजलमार्फत प्रवासको अनुभूति, सामाजिक यथार्थ र मानवीय संवेदनालाई स्वर दिएका थिए ।
एसियाली मुलुकबाट पनि उल्लेखनीय सहभागिता रह्यो । दक्षिण कोरियाबाट जीवन खत्री र विष्णु वाग्ले तथा जापानबाट दिनेशराज ज्ञवाली र गिरिजा गैरेले गजल वाचन गर्नुभएको थियो । उहाँहरूका रचनामा प्रवासी जीवनका अनुभव, देशप्रेम, समयचेतना र व्यक्तिगत अनुभूतिका विविध रङ देखिन्थे ।
युरोपको प्रतिनिधित्व गर्दै जर्मनीबाट रमा बिडारी पौडेल ‘नारी जागरण’ र पोर्चुगलबाट एनबी. अञ्जानले गजल प्रस्तुत गर्नुभयो । उहाँहरूका गजलमा समसामयिक सामाजिक यथार्थ, मानवीय सम्बन्ध र चेतनशील अभिव्यक्तिको सघनता रहेको थियो । अमेरिकाबाट शकुन ज्ञवाली र पुष्पा खनालले सुललित शैलीमा गजल वाचन गर्दै कार्यक्रममा सिर्जनात्मक विविधता थप्नुभएको थियो ।
अनेसासका सल्लाहकार तीर्थ अधिकारीले दिवंगत तथा अग्रज स्रष्टाको सम्मानमा आयोजना गरिने यस्ता कार्यक्रमले नयाँ पुस्ताका स्रष्टालाई प्रेरित गर्ने बताउनुभयो । उहाँले साहित्यिक परम्पराको संरक्षणसँगै नयाँ सिर्जनालाई प्रोत्साहन दिन अनेसासले खेलेको भूमिका महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी र वर्तमान महासचिव राजु सिटौलाले मोतीराम भट्टको योगदानको स्मरण गराउने क्रमशः छन्दकविता र गद्यकविता वाचन गर्नुभयो । होमनाथ सुवेदीले प्रस्तुत गजलहरूमाथि संक्षिप्त टिप्पणी गर्दै कार्यक्रमको साहित्यिक समीक्षासमेत गर्नुभएको थियो ।
समापन समारोहमा अध्यक्षीय मन्तव्य राख्दै अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष लालगोपाल सुवेदीले मोतीराम भट्टलाई नेपालभित्र नेपाल प्रज्ञा–प्रतिष्ठानसँग र प्रवासमा अनेसाससँग जोडेर हेर्न सकिने धारणा व्यक्त गर्नुभयो । मोतीरामले नेपाली भाषा, साहित्य र सांस्कृतिक चेतनाको विस्तारमा पुर्याएको योगदानलाई संस्थागत रूपमा स्मरण गर्नु अनेसासको दायित्व भएको उहाँको भनाइ थियो ।
विश्वका विभिन्न भूगोलमा रहेका नेपाली स्रष्टालाई एउटै साहित्यिक मञ्चमा जोडेको यो कार्यक्रमले गजल विधाप्रतिको आकर्षण, मोतीराम भट्टको दीर्घ प्रभाव र प्रवासी नेपाली साहित्यको जीवन्ततालाई पुनः प्रमाणित गरेको छ । कार्यक्रमको अन्त्यमा अध्यक्ष सुवेदीले सहभागी स्रष्टा, वक्ता तथा दर्शक-श्रोताप्रति धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभएको थियो ।






