काठमाडौं,
भदौ २७ ।
तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आमनेसामने हुँदैछन् । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने फाइनल खेल बिहान ७ः१५ बजे सुरु हुनेछ ।
दुवै टोली दोस्रोपटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणको फाइनलमा युएईलाई सात विकेटले पराजित गर्दै उपाधि जितेको थियो । युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई हराउँदै उपाधि उचालेको थियो ।
यसपटक फाइनलको महत्व अझ बढेको छ । प्रतियोगिताको विजेता टोलीले मात्र आगामी एसिया कपमा स्थान बनाउने भएकाले नेपाल र युएई दुवैका लागि आजको खेल प्रतिष्ठासँगै एसिया कप प्रवेशको निर्णायक अवसर बनेको छ ।
जारी प्रतियोगितामा नेपालले समूह चरणदेखि सेमिफाइनलसम्म पाँच खेल खेल्दा चार जित र एक हारको नतिजा निकालेको छ । युएई भने प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो ।
एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र युएईबीच हालसम्म १९ खेल भएका छन् । जसमा नेपालले ११ र युएईले आठ खेल जितेका छन् । पछिल्ला पाँच भेटमा नेपालले तीन खेल आफ्नो पक्षमा पारेको छ । गत मेमा भएको आइसिसी विश्वकप लिग-२ अन्तर्गतका दुवै खेलमा पनि नेपालले युएईलाई पराजित गरेको थियो ।
यसअघि समूह चरण र पछिल्ला खेलको प्रदर्शनले आत्मविश्वास बढाएको नेपाल आज युएईविरुद्ध त्यही लय कायम राख्दै दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने योजनामा हुनेछ ।
तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ब्याटिङ गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् ।






