बाढीपीडितका लागि कलाकार संघको सहयोग

काठमाडौं,
भदौ २७ ।

नेपाल चलचित्र कलाकार संघले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार ५२५ रुपैयाँ सहयोग गरेको छ । शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा संघका अध्यक्ष उत्तम केसीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । भोटेकोशीहुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि कलाकारहरूबाट संकलित रकम कोषमा जम्मा गरिएको संघले जनाएको छ ।

संघका निवर्तमान अध्यक्ष मोहन निरौलाले सामाजिक सेवाको भावनासहित स्थापना भएको कलाकार संघले आफ्नो सामाजिक उत्तरदायित्व निरन्तर पूरा गर्दै आएको बताउनुभयो । कठिन समयमा सरकारसँग एकताबद्ध हुँदै प्रभावितलाई सहयोग गर्ने उद्देश्यले कलाकारबाट रकम संकलन गरिएको उहाँको भनाइ थियो ।

संघका अनुसार भाद्र २३ गते जेन-जी शहीद दिवस तथा संघको ३८औँ स्थापना दिवसका अवसरमा आयोजित रक्तदान तथा राहत अभियानबाट संकलित रकम सहयोग गरिएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा संघकी उपाध्यक्ष पुजना प्रधान, महासचिव सुनिल कटुवाल, सहकोषाध्यक्ष पवन केसी, सदस्यहरू इन्द्र दोङ खम्वे, नवीनकुमार श्रेष्ठ, मोनिका दाहाल र संगम राई लव्ली तथा चलचित्रकर्मी पुकार भट्टराई एवम् लव प्याकुरेलको उपस्थिति थियो ।

यसमा तपाइको मत

अन्य समाचार