‘बाः एक योद्धा’ अब ९ असोजमा

काठमाडौं,
भदौ २७ ।

चलचित्र ‘बाः एक योद्धा’को नयाँ प्रदर्शन मिति तय भएको छ । भोटेकोशी बाढीका कारण पूर्वनिर्धारित समयमा प्रदर्शनमा आउन नसकेको चलचित्र अब असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको हो । कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर निर्माण टिमले नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि बाढी प्रभावितका लागि दुई लाख रूपैयाँ सहयोग गर्दै चलचित्रको प्रदर्शन मिति पछि सारिएको थियो ।

निर्माता वसन्त लम्सालका अनुसार वितरक तथा प्रदर्शकसँगको छलफलपछि असोज ९ लाई नयाँ प्रदर्शन मिति तय गरिएको हो ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरूङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायत कलाकारहरूको अभिनय छ ।

फिचर फिल्मतर्फ हरि लम्सालको यो पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रका निर्माता वसन्त लम्साल हुनुहुन्छ भने अनिल बुढाथोकी कार्यकारी निर्माता र कृष्ण काफ्ले सहनिर्माता हुनुहुन्छ । शिवराम श्रेष्ठको छायाकंन, मित्र डि. गुरूङको सम्पादन रहेको चलचित्रको वितरण कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ ।

नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार