काठमाडौं,
साउन १९ ।
साहित्यिक पत्रकार संघले आफ्नो ५५औं स्थापना दिवसका अवसरमा साहित्य, संस्कृति, चित्रकला र कलाक्षेत्रका पाँच विशिष्ट साधकलाई अभिनन्दन गर्ने भएको छ ।
संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले नेपाली संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत वरिष्ठ संस्कृतिविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठ, नेपाली चित्रकलामा योगदान पुर्याएबापत वरिष्ठ चित्रकार प्रा.मदन चित्रकार, नेपाली साहित्यमा योगदान पुर्याएबापत वरिष्ठ कवि ज्ञान उदास तथा नेपाली कलाक्षेत्रमा योगदान पुर्याएबापत वरिष्ठ कलाकारद्वय चैत्यदेवी र सन्तोष पन्तलाई अभिनन्दन गर्ने निर्णय गरेको हो ।
अभिनन्दनका लागि वरिष्ठ साहित्यकार प्रमोद प्रधानको संयोजकत्वमा नरेन्द्रबहादुर श्रेष्ठ र श्रीओम श्रेष्ठ ‘रोदन’ सदस्य रहेको सिफारिश समिति गठन गरिएको थियो । उक्त समितिको सिफारिशका आधारमा पाँचैजना साधकलाई सम्मान गर्ने निर्णय गरिएको संघले जनाएको छ ।
विसं २०२९ मा स्थापना भएको साहित्यिक पत्रकार संघले यसअघि साहित्य, संस्कृति, कला तथा पत्रकारितालगायत विविध क्षेत्रमा योगदान पुर्याएका अनेकौं अग्रज व्यक्तित्वलाई अभिनन्दन गरिसकेको छ ।
सम्मानित हुनेहरूमा धरणीधर कोइराला, विश्वेश्वरप्रसाद कोइराला, काशीबहादुर श्रेष्ठ, चन्द्रमानसिंह मास्के, पारसमणि प्रधान, यज्ञराज शर्मा, रुद्रराज पाण्डे, सिद्धिचरण श्रेष्ठ, नरबहादुर भण्डारी, भुवनलाल प्रधान, माधवप्रसाद घिमिरे, महानन्द पौडेल, भवानी घिमिरे, श्यामप्रसाद शर्मा, मदनमणि दीक्षित, गोविन्दबहादुर मल्ल ‘गोठाले’, परशु प्रधान, लोकेन्द्रबहादुर चन्द, मदनदेव भट्टराई, शशिकला शर्मा, भरत जंगम, डा.जगमान गुरुङ, गीता केशरी, मदनदास श्रेष्ठ, मोहन सिटौला, मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के.के.कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा.सुरेन्द्र केसी, द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हीरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी.कोइराला, डा.डी.आर.उपाध्याय, पुष्कर लोहनी, कवि एवं अभियन्ता भीम उदास, भुवन चन्द, मुकेश मल्ल, वसन्त श्रेष्ठ तथा संघका पूर्वअध्यक्षहरू भवानी घिमिरे, नगेन्द्रराज शर्मा, अच्युतरमण अधिकारी, विश्वविमोहन श्रेष्ठ र नरेन्द्रबहादुर श्रेष्ठलगायत रहनुभएको छ ।







