काठमाडौं,
साउन ४ ।
फेरान टोरेसको निर्णायक गोलमा साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप-२०२६ को उपाधि चुमेको छ । सोमबार बिहान भएको फाइनल खेलमा स्पेन अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि विश्व च्याम्पियन बनेको हो ।
यो जितसँगै स्पेनले अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा भएको विश्वकपको २३ औँ संस्करणको उपाधि उचालेको छ ।
अमेरिकाको न्युयोर्कस्थि न्युजर्सी स्टेडियममा अर्जेन्टिनामाथि एक-शुन्यको संर्घषपूर्ण जित निकाल्दै स्पेन च्याम्पियन बनेको हो । स्पेनले सन् २०१० पछि विश्वकपको उपाधि जितेको थियो ।
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्व च्याम्पियन बन्ने मौका गुमायो । अर्जेन्टिना सन् १९७८, १९८६ र २०२२ मा च्याम्पियन बनेको थियो ।
स्पेनको जितमा फेरान टोरेसले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको एक सय ६ मिनेटमा निर्णायक गोल गर्नुभयो ।
निर्धारित समय दुबै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलमा अधिकांश समय अर्जेन्टिनाविरुद्ध स्पेन हावी भएपनि बललाई उत्कृष्ट फिनिसिङ दिन भने सकेन ।
खेलको इन्ज्युरी समयमा इन्जो फर्नान्डेज दोहोरो पहेँलो कार्ड खादै मैदान छाडेपछि साविक विजेता अर्जेन्टिना १० खेलाडीमा समेटियो ।
इन्ज्युरी समयको तेस्रो मिनेटमा इन्जोले स्पेनका खेलाडीलाई फाउल गरेपछि इन्जोले दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडनुभएको थियो ।
फिफा विश्वकप पहिलो पटक तीन देशका १६ शहरमा संयुक्त रुपमा आयोजना भएको हो । पहिलो पटक ४८ देश सहभागी विश्वकपमा कुल १०४ खेल भए ।
विश्वकपको २४ औँ संस्करण सन् २०३० मा स्पेन, पोर्चुगल र मोरक्कोमा हुनेछ । विश्वकपको एक सय वर्ष पुगेको अवसरमा उद्घाटन खेलहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा समेत खेलाइनेछ ।
२४ औँ संस्करण कुल ६ देशमा हुने भएपनि मुख्य खेलहरू भने स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा आयोजना गर्नेछन् ।






