काठमाडौं,
असार २६ ।
प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्र ‘गौँथली’ दर्शकमाझ चर्चाको केन्द्रमा पुगेको छ । आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर सार्वजनिक भएको पाँच दिनमै उल्लेखनीय प्रतिक्रिया प्राप्त भएपछि फिल्मप्रति दर्शकको अपेक्षा थप बढेको हो । सार्वजनिक ट्रेलरले युट्युबमा सात लाख ३० हजारभन्दा बढी भ्युज हासिल गर्दै मुभी ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको छ । छोटो अवधिमै प्राप्त दर्शकीय प्रतिक्रियाले चलचित्रले प्रदर्शनअघि नै सकारात्मक माहोल निर्माण गर्न सफल भएको देखिन्छ । सामाजिक सञ्जालमा समेत ट्रेलरको कथा, अभिनय र प्रस्तुतिको व्यापक चर्चा भइरहेको छ ।
विशेषगरी ग्रामीण परिवेशमा जन्मिएकी एउटी किशोरीको शिक्षा प्राप्त गर्ने सपना, त्यसका लागि उनले भोग्नुपरेका सामाजिक अवरोध र संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गरिएको ट्रेलरले धेरै दर्शकलाई प्रभावित बनाएको छ । चलचित्रले मनोरञ्जनसँगै समाजमा विद्यमान बालविवाह, लैगिंक विभेद र छोरी शिक्षाजस्ता विषयलाई संवेदनशील रूपमा उठाएको देखिन्छ ।
‘गौँथली’ शीर्षक नेपाली चलचित्रका लागि नयाँ भने होइन । करिब दुई दशकअघि वरिष्ठ चिकित्सक तथा साहित्यकार डा.भोला रिजालले यही नाममा चलचित्र निर्माण गर्नुभएको थियो । नेपाली चलचित्र इतिहासमा उक्त कृतिलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म)का रूपमा लिइन्छ । त्यतिबेला प्रदर्शनमा आएको चलचित्रले ५१ दिनसम्म सफल प्रदर्शन गर्दै आफ्नो छुट्टै पहिचान बनाएको थियो ।
यसपटक भने सोही नामलाई नयाँ कथावस्तु र नयाँ पुस्ताको दृष्टिकोणसहित डा.भोला रिजालका छोरा डा.कपिल रिजालले निर्देशन गर्नुभएको छ । यसले पुरानो नामको ऐतिहासिक विरासतलाई निरन्तरता दिँदै समसामयिक सामाजिक विषयलाई पर्दामा उतार्ने प्रयास गरेको निर्माण पक्षको भनाइ छ ।
ट्रेलरले चलचित्रको मूल पात्र ‘गौँथली’ (सिम्रन खड्का)को जीवनयात्रालाई केन्द्रमा राखेको छ । गाउँमा हुर्किएकी, पढाइमा अब्बल र ठूलो सपना बोकेकी गौँथलीलाई उनका शिक्षकले उच्च शिक्षा दिलाउने सपना देख्छन् । तर, आर्थिक तथा पारिवारिक बाध्यता, परम्परागत सोच र सामाजिक दबाबका कारण उनको बालविवाह गराइन्छ ।
विवाहपछि गौँथलीको जीवनमा आउने उतारचढाव ट्रेलरको मुख्य आकर्षण बनेको छ । पढाइलाई निरन्तरता दिन चाहने गौँथलीलाई घरपरिवार र समाजको संकुचित सोचले रोक्न खोज्छ । उनको पुस्तक जलाइने, पढ्न नदिइने र महिलाको शिक्षालाई अनावश्यक ठानिने सामाजिक मानसिकतालाई ट्रेलरले निकै प्रभावशाली रूपमा प्रस्तुत गरेको छ । यही संघर्षका बीच गौँथलीले आफ्नो पहिचान र अधिकारका लागि गर्ने प्रयासले चलचित्रप्रति दर्शकको चासो अझ बढाएको छ ।
ट्रेलर सार्वजनिक भएसँगै अभिनेता अरुण क्षेत्रीको अभिनयले विशेष प्रशंसा पाएको छ । उहाँले निर्वाह गरेको पात्र सरल, निर्दोष र केही फरक स्वभावको देखाइएको छ, जसले गौँथलीको शिक्षाप्रतिको चाहनामा साथ दिन खोज्छ । उहाँको अभिनय शैलीले चलचित्रमा नयाँपन ल्याउने संकेत ट्रेलरबाटै मिलेको दर्शकहरूको प्रतिक्रिया छ ।
त्यस्तै अभिनेत्री सिम्रन खड्काले शीर्ष भूमिकामा सशक्त अभिनय प्रस्तुत गर्नुभएको छ । संघर्ष, पीडा, आशा, निराशा र विद्रोहका भावलाई उहाँले स्वाभाविक रूपमा अभिव्यक्त गर्नुभएको छ । ट्रेलरमा देखिएको उहाँको अभिनयलाई धेरैले करिअरकै उत्कृष्ट प्रस्तुतिमध्ये एक हुनसक्ने टिप्पणी गरेका छन् ।
‘छोरीलाई पढाउनुपर्छ’ भन्ने मूल सन्देश बोकेको चलचित्रले ग्रामीण समाजमा अझै विद्यमान बालविवाह, महिलामाथिको विभेद, अशिक्षा र परम्परागत सोचका कारण महिलाले भोग्नुपर्ने कठिनाइलाई यथार्थपरक रूपमा चित्रण गरेको देखिन्छ । पहाडी ग्रामीण परिवेश, स्थानीय संस्कृति, जीवनशैली र सामाजिक सम्बन्धलाई चलचित्रले कलात्मक ढंगले प्रस्तुत गरेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । त्यसैले मनोरञ्जनसँगै सामाजिक चेतना फैलाउने चलचित्रका रूपमा पनि ‘गौँथली’लाई हेरिएको छ ।
दर्शकले सामाजिक सञ्जालमा दिएका प्रतिक्रियाअनुसार चलचित्रले परिवारसहित हेर्न मिल्ने सन्देशमूलक सिनेमाको अनुभूति गराउने अपेक्षा गरिएको छ । ट्रेलरले पाएको उत्साहजनक प्रतिक्रिया हेर्दा प्रदर्शनपछि पनि चलचित्रले बक्स अफिसमा सकारात्मक व्यापार गर्ने विश्वास निर्माण पक्षले लिएको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना तथा राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गर्नुभएको छ । चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुनुहुन्छ । निर्माता सुमन गिरी र डा.कपिल रिजाल रहनुभएको छ भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध हुनुहुन्छ ।
चलचित्रको कथा डा.भोला रिजालले तयार पार्नुभएको हो । पटकथा तथा संवाद लेखनमा निर्देशक डा.कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ ।
मुख्य सहायक निर्देशकका रूपमा गिरिराज घिमिरे रहनुभएको छ । चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।






