‘आ बाट आमा-२’को क्रोएसिया प्रदर्शन अधिकार बिक्री

काठमाडौं,
असार २६ ।

आर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘आ बाट आमा-२’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हासिल गरेको छ । चलचित्रको क्रोएसिया प्रदर्शन अधिकार बिक्री भएसँगै यसको विदेशी बजार विस्तार हुने क्रम निरन्तर अगाडि बढेको निर्माण पक्षले जनाएको छ ।

निर्माण कम्पनीका अनुसार क्रोएसियाका लागि चलचित्रको प्रदर्शन अधिकार त्यहाँ क्रियाशील नेप इन्टरटेन्मेन्ट र जाग्रेबस्थित बुद्ध मार्टले संयुक्त रूपमा खरिद गरेका छन् । चलचित्रका निर्माता तथा निर्देशक चन्द्र पन्त र क्रोएसियाका वितरकबीच प्रदर्शन अधिकारसम्बन्धी औपचारिक कागजी सम्झौतासमेत सम्पन्न भइसकेको छ ।

निर्माण पक्षका अनुसार पछिल्लो समय रोजगारी तथा अध्ययनका लागि क्रोएसियामा नेपालीहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि हुँदै गएकाले त्यहाँ नेपाली चलचित्रप्रति पनि आकर्षण बढ्दो छ । यही सम्भावनालाई मध्यनजर गर्दै स्थानीय वितरकहरूले ‘आ बाट आमा २’ को प्रदर्शन अधिकार खरिद गरेका हुन् ।

यसअघि नै चलचित्रको प्रदर्शन अधिकार अमेरिका, क्यानडा र जापानलगायत विभिन्न देशका वितरकलाई बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ । प्रदर्शनअघि नै विभिन्न अन्तर्राष्ट्रिय बजारमा चलचित्रको व्यापार हुनुले यसको व्यावसायिक सम्भावनाप्रति वितरकहरूको विश्वास झल्किएको निर्माण पक्षको भनाइ छ ।

निर्माता तथा निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथा रहेको ‘आ बाट आमा २’ आगामी असोज ३० गते, बडादशैँको फूलपातीको अवसर पारेर नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्रले वैदेशिक रोजगारीका कारण परिवारबाट टाढिएका सन्तान र उनीहरूको प्रतिक्षामा जीवन बिताइरहेका आमाको भावनात्मक कथालाई मुख्य विषयवस्तु बनाएको छ ।

चलचित्रको सार्वजनिक पोष्टरमा समेटिएको ‘आउँछु भन्ने एउटा भुटो आशामा आमाले वर्षेनी जमरा छरिरहन्छिन्’ भन्ने मार्मिक हरफले दशैँ, आमाको माया, परिवारको विछोड र वैदेशिक रोजगारीले सिर्जना गरेको सामाजिक यथार्थलाई चित्रण गरेको छ । निर्माण पक्षका अनुसार चलचित्रले नेपाली समाजमा बढ्दो वैदेशिक पलायन र त्यसले परिवारमा पारेको भावनात्मक असरलाई संवेदनशील ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ ।

आर्य पन्तको प्रस्तुति तथा आर्या इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा अभिनेता पल शाह, अभिनेत्री विपना थापा, आकाश श्रेष्ठ, भारतीय अभिनेता प्रदीप रावत (गजनीका चर्चित खलनायक), मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट, दिलिप अखेडा तथा नरेन खड्कालगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

नेपालभर चलचित्रको वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ भने डिजिटल प्रदर्शन अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ । चलचित्रको प्रोडक्सन म्यानेजरको जिम्मेवारी करणसिंह रसालीले सम्लानुभएको छ ।

प्रदर्शनअघि नै विभिन्न देशमा प्रदर्शन अधिकार बिक्री हुनु, डिजिटल अधिकार सम्झौता सम्पन्न हुनु तथा दर्शकमाझ सकारात्मक चर्चा बढ्दै जानुले ‘आ बाट आमा २’ यसवर्षको प्रतीक्षित नेपाली चलचित्रमध्ये एक बन्ने अपेक्षा गरिएको छ । निर्माण पक्षले चलचित्रले नेपालीपन, पारिवारिक सम्बन्ध र आमाप्रतिको समर्पणलाई भावनात्मक रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार