पत्रकार देवेन्द्र भट्टराई अमेरिकाको सिनसिनाटीमा सम्मानित

✍️ अर्जुन प्रधान,
असार १६ ।

देवेन्द्र भट्टराई अमेरिकाको सिनसिनाटीमा सम्मानित हुनुभएको छ । भुटानी शरणार्थी, मानव अधिकार तथा राजनीतिक बन्दीहरूको विषयमा तीन दशकभन्दा लामो समयदेखि पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै उहाँलाई विशेष सम्मान प्रदान गरिएको हो ।

भुटनीज कम्युनिटी अफ सिनसिनाटी र लिटरेचर काउन्सिल अफ भुटानको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा पत्रकार भट्टराईलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रमका वक्ताहरूले भट्टराईले भुटानी शरणार्थीहरूको संघर्ष, पीडा, विस्थापन तथा मानव अधिकारका सवाललाई निरन्तर रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउँदै आएको उल्लेख गरे । उनीहरूले भट्टराईलाई समाचार लेख्ने पत्रकारमात्र नभई भुटानी समुदायको इतिहास, विस्थापन र मानव अधिकारको संघर्षलाई दस्तावेजीकरण गर्ने समर्पित अनुसन्धानकर्ता तथा अभिलेखकर्ता भएको बताएका थिए ।

कार्यक्रमको प्रारम्भमा किशोर शिवाकोटीले सांगीतिक प्रस्तुति दिनुभएको थियो । त्यसपछि आयोजित सम्मान तथा अन्तर्क्रिया कार्यक्रममा काशी घिमिरे, टंक तिम्सिना, विष्णु खरेल, राम गुरुङ, तारा दाहाल, खेम रिजाल, भानु खनाल तथा सिर्जना तिम्सिना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वक्ताहरूले भट्टराईले भुटानी राजनीतिक बन्दीहरूको अवस्था, शरणार्थीहरूले भोग्दै आएका कठिनाइ तथा अन्तर्राष्ट्रिय ध्यानाकर्षण आवश्यक रहेका मानव अधिकारका विषयलाई निरन्तर उठाउँदै आएको उल्लेख गरेका थिए । उनीहरूले दार्जिलिङ, सिक्किमलगायत विभिन्न क्षेत्रमा पुगेर स्थलगत अध्ययन, अनुसन्धान र अन्तर्वार्तामार्फत भुटानी समुदायको इतिहास र संघर्षलाई अभिलेखीकरण गर्न भट्टराईले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रमका अध्यक्ष खेम रिजालले नेपाली भाषी भुटानी समुदायको भाषा, साहित्य, संस्कृति र पहिचानको संरक्षणमा यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले समुदायले आफ्नो इतिहास र सांस्कृतिक पहिचान जोगाउँदै आगामी पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

यस अवसरमा ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटानले पनि भुटानी शरणार्थी तथा राजनीतिक बन्दीहरूको मानव अधिकारका पक्षमा पुर्‍याएको योगदानको कदर गर्दै पत्रकार भट्टराईलाई छुट्टै सम्मानपत्र प्रदान गरेको थियो ।

सम्मान ग्रहणपछि भट्टराईले पत्रकारिता आफूका लागि पेशाभन्दा पनि सत्य, न्याय र मानवताको पक्षमा उभिने माध्यम भएको बताउँदै आगामी दिनमा पनि पीडित, उपेक्षित र आवाजविहीन समुदायको पक्षमा निरन्तर कलम चलाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको सञ्चालन लिटरेचर काउन्सिल अफ भुटानका अध्यक्षले गर्नुभएको थियो भने अन्त्यमा पुष्पा लुइँटेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले भट्टराईसँगको अन्तरक्रियालाई डायस्पोरामा रहेका युवा पुस्ताका लागि समुदायको इतिहास, न्याय र मानव अधिकारका विषय बुझ्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएका थिए ।

उक्त समारोहको शुभारम्भ गायक किशोर शिवाकोटीको सुमधुर गायनबाट गरिएको थियो । कार्यक्रममा हिन्दू रिसोर्स सेन्टरका अध्यक्ष काशी घिमिरे, भुटानी राजबन्दीहरूको फिर्ती अभियानकी अभियन्ता सिर्जना तिम्सिना, समाजसेवी तारा दाहाल, एचआरसीका सदस्य टङ्क तिम्सिना, भुटानी समाज सेन्सिनाटीका सदस्य विष्णु खरेल, राम गुरुङ तथा साहित्य परिषद् भुटानका अध्यक्ष खेम रिजालले आ–आफ्ना विचार तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार