काठमाडौं,
असार १४ ।
नेपालको अन्तर्राष्ट्रिय कार्गो तथा कुरियर सेवामा नयाँ पहिचान स्थापित गर्ने उद्देश्यसहित ट्रेड भिजन इन्भेष्टमेन्ट कम्पनीद्वारा प्रवर्द्धित ट्रेड भिजन कार्गो एण्ड कुरियर प्रा.लि.को औपचारिक शुभारम्भ भएको छ । काठमाडौं महानगरपालिका-१६, बालाजु बाइपासस्थित कार्यालयको उद्घाटन कम्पनीका अध्यक्ष विनोद भट्टराई तथा चर्चित गायिका सरिका घिमिरेले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा विभिन्न कार्गो कम्पनीका प्रतिनिधि, व्यवसायी, सामाजिक संघ-संस्था तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा उडान कार्गो, सारथी कार्गो, युनिका कार्गो, नेपाल रक्तदाता संघ, मिलाप फाउण्डेशन अध्यक्ष तथा गीतकार, पत्रकार गीता अधिकारी, गायक गौरव दर्पण, व्यवसायी युवराज श्रेष्ठ, गोपाल बिष्टलगायतका व्यक्तिहरूको सहभागीता थियो ।
कार्यक्रममा सहभागीहरूले नवस्थापित कम्पनीको सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा गुणस्तरीय, भरपर्दो तथा ग्राहकमैत्री सेवा प्रदान गर्ने अपेक्षा गरेका थिए ।
कम्पनीका सञ्चालक सरोज बास्तोलाको नेतृत्वमा अघि बढेको यस संस्थाले नेपालबाट विश्वका विभिन्न मुलुकहरूमा सुरक्षित, छिटो र भरपर्दो कार्गो तथा कुरियर सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाउनुभयो । बास्तोलाले लामो समय विदेशमा रहेर सामाजिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय अनुभव हासिल गर्नुभएको छ ।
उहाँका अनुसार कम्पनीले अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, हङकङ, युरोपेली मुलुकहरू तथा मध्यपूर्वका विभिन्न देशहरूमा सेवा विस्तार गरिसकेको छ र आगामी दिनमा अझ प्रभावकारी रूपमा विस्तार गरिनेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गायिका सरिका घिमिरेले नयाँ व्यवसायिक यात्राको सफलताको शुभकामना व्यक्त गर्दै कम्पनीलाई सेवामुखी, विश्वसनीय तथा ग्राहकको पहिलो रोजाइ बन्ने गरी अघि बढ्न सुझाव दिनुभएको थियो ।
त्यसैगरी सञ्चालक बास्तोलाले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, शुभेच्छुक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै ‘सरल, सहज र सुरक्षित ढंगबाट नेपालबाट विश्वभर सामान पठाउने सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उद्देश्य हो’ भन्दै प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कम्पनीले हाल काठमाडौंको बालाजु बाइपासस्थित मुख्य कार्यालयसहित भक्तपुर, ललितपुर, काठमाडौं, सुनसरी र मोरङका विभिन्न स्थानमा सम्पर्क तथा सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको जनाएको छ ।
‘नेपालबाट विश्वभर- सुरक्षित, भरपर्दो र छिटो सेवा’ भन्ने नारासहित सुरु गरिएको यस कम्पनीले अन्तर्राष्ट्रिय कार्गो तथा कुरियर क्षेत्रमा नयाँ विकल्पका रूपमा आफूलाई स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ ।






