काठमाडौं,
असार १२ ।
दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएकी तथा टेलिचलचित्र ‘सीता’ की कलाकार समिया कार्की रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तीन तिघ्रे क्या बिग्रे’ मा मुख्य भूमिकाका लागि अनुबन्धित हुनुभएको छ ।
टेलिचलचित्र ‘सीता’ मा सीताको नन्दको भूमिकाबाट दर्शकमाझ परिचित बन्नुभएकी समियाको यो डेब्यु चलचित्र हुनेछ । पहिलो चलचित्रमै मुख्य भूमिकामा अभिनय गर्ने अवसर पाउनुभएकी उहाँ यसलाई आफ्नो करिअरको महत्त्वपूर्ण सुरुआतका रूपमा लिएको बताउनुहुन्छ ।
समियाले नयाँ टिमसँग काम गर्ने अवसर पाउनुका साथै अनुभवी कलाकारहरूसँग अभिनय गर्न पाउनु आफ्नो लागि खुसी र सिकाइको विषय भएको प्रतिक्रिया दिनुभएको छ ।
चलचित्रमा गायक पशुपति शर्मा तथा गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त पनि मुख्य भूमिकामा रहनुहुनेछ । कमेडी जनरामा निर्माण हुन लागेको यस चलचित्रको निर्देशन अमरदीप सापकोटाले गर्दैहुनुहुन्छ ।
निर्देशक सापकोटाका अनुसार ‘तीन तिघ्रे क्या बिग्रे’ लाई हास्य, मनोरञ्जन र समसामयिक विषयवस्तुको संयोजनसहित दर्शकमाझ प्रस्तुत गरिनेछ । उहाँले चलचित्रले सबै वर्गका दर्शकलाई मनोरञ्जन दिन सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको अन्य कलाकार तथा प्रदर्शन मिति भने निर्माण पक्षले हालसम्म सार्वजनिक गरेको छैन ।






