काठमाडौं,
असार ११ ।
दोलखा जिल्लाको प्राकृतिक सौन्दर्य, बालसखाको आत्मीयता र पारिवारिक संघर्षलाई समेटिएको नयाँ गीत ‘दोलखा सिंगटी’ सार्वजनिक गरिएको छ । दोलखा फिल्मस् युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले दोलखाको मौलिक पहिचान र स्थानीय जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।
अभिनेता दिनेश केसीको स्वर, अमृत भारतीको शब्द र रामकुमार नेपालीको संगीत र संगीत संयोजन रहेको छ गीतमा । सरल शब्द, मिठासपूर्ण स्वर र कर्णप्रिय संगीतका कारण गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ ।
पछिल्लो समय अभिनयभन्दा गायन क्षेत्रमा बढी सक्रिय देखिनुभएका दिनेश केसीले यसअघि पनि दोलखा जिल्लाका महत्त्वपूर्ण धार्मिक, पर्यटकीय तथा सांस्कृतिक सम्पदालाई समेटेर परिचयात्मक गीत सार्वजनिक गर्नुभएको थियो । उहाँले अब नेपालभर रहेका प्रमुख देवस्थलहरूको महत्त्व र धार्मिक सन्देशलाई उजागर गर्ने विशेष गीत दर्शकमाझ ल्याउने तयारी गरिरहेको बताउनुभयो ।
‘नलेउ छट्पटी, घुम्नलाई लैजान्छु दोलखा सिंगटी’ बोल समेटिएको गीतको भिडियोमा जनकबहादुर खत्री, मिनकुमारी खत्री र दिनेश केसीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन लिगेश भट्टराईले गर्नुभएको हो ।
दोलखाको प्राकृतिक दृश्य, स्थानीय संस्कृति र भावनात्मक कथावस्तुलाई समेटिएको भिडियोले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । गीतमार्फत दोलखाको सुन्दरता, स्थानीय जनजीवन र पारिवारिक सम्बन्धको भावनात्मक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ ।






