‘लालीबजार’ अग्रस्थानमा

काठमाडौं,
असार ९ ।

गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘रोल नं. १’ ले घरेलु बक्स अफिसमा डेढ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार असार ७ गतेसम्म फिल्मले एक करोड ५५ लाख ४६ हजार ६६८ रुपैयाँ ग्रस कमाइ गरेको छ ।

यसअघि जेठ ३१ गतेसम्म यस चलचित्रको कमाइ एक करोड ३५ लाख १५ हजार ९९३ रुपैयाँ रहेको थियो । पछिल्लो सात दिनमा मात्र फिल्मले २० लाख ३० हजार ६७५ रुपैयाँ आम्दानी गरेको बोर्डको तथ्यांकमा उल्लेख छ । बोर्डका अनुसार असार ७ गतेसम्म ‘रोल नं. १’का ५७ हजार १३२ वटा टिकट बिक्री भएका छन् ।

यसैबीच, गत वैशाख २५ गतेदेखि प्रदर्शनमा रहेको ‘लालीबजार’ ले घरेलु बक्स अफिसमा आफ्नो अग्रता कायम राखेको छ । चलचित्रले असार ७ गतेसम्म नौकरोड २८ लाख १४ हजार ५०५ रुपैयाँ ग्रस कमाइ गरेको छ । अघिल्लो आइतबारसम्म नौ करोड १६ लाख ६५५ रुपैयाँ कमाएको चलचित्रले पछिल्लो सात दिनमा थप १२ लाख १३ हजार ८५० रुपैयाँ आम्दानी गरेको छ ।

‘लालीबजार’का पछिल्लो समयसम्म तीन लाख १५ हजार ७२४ वटा टिकट बिक्री भइसकेका छन्, जसले यस वर्ष प्रदर्शन भएका नेपाली चलचित्रमध्ये सर्वाधिक दर्शक तान्न सफल भएको संकेत गरेको छ ।

त्यस्तै, जेठ १५ गतेबाटै प्रदर्शनमा आएको चलचित्र ‘कुम्भ’को व्यापार भने अपेक्षाकृत कमजोर देखिएको छ । बोर्डको विवरणअनुसार यस चलचित्रले असार ७ गतेसम्म जम्मा चार लाख २५ हजार ८८५ रुपैयाँ ग्रस कमाइ गरेको छ । यो रकम एक हजार ८१५ वटा टिकट बिक्रीबाट प्राप्त भएको हो ।

पछिल्लो सात दिनमा ‘कुम्भ’ले केवल ३४ हजार ८७५ रुपैयाँ मात्र कमाएको तथ्यांकले देखाएको छ । यससँगै ‘कुम्भ’ चालु वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये सबैभन्दा कम कमाइ गर्ने फिल्म बनेको छ । असार ७ गतेको पछिल्लो अपडेटमा आइपुग्दा चलचित्र ‘मितज्यू’, ‘काजी’ र ‘लाइफ ड्यामेज’ सूचीमा छैनन् । जसले ती चलचित्रहरू हलबाट उत्रिसकेको बुझिन्छ ।

चलचित्र विकास बोर्डको पछिल्लो तथ्यांकले नेपाली बक्स अफिसमा ‘लालीबजार’को दबदबा कायम रहँदा ‘रोल नं. १’ले पनि सन्तोषजनक व्यापार गरिरहेको देखाएको छ । गत शुक्रबार रिलिज चलचित्र ‘आइएम जितबहादुर’ को प्रदर्शन पनि कमजोर देखिएको छ । यसले पाएको सो र दर्शक अकुपेन्सीका आधारमा कमाइ सुखद नरहेको देखिन्छ । यद्यपि, यसको आधिकारिक बक्स अफिस रिपोर्ट आगामी सोमबार मात्रै सार्वजनिक हुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार