उत्तम र निरुताको ‘सारथी’ छायांकन सम्पन्न

काठमाडौं,
जेठ १९ ।

अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंह अभिनीत चलचित्र ‘सारथी’को मुख्य छायांकन सम्पन्न भएको छ । निर्माण टिमले म्याग्दी जिल्लाको हिमाली गाउँ गुर्जा खानी क्षेत्रमा छायांकन सकेर काठमाडौं फर्किएको जनाएको छ । चलचित्रका निर्देशक कुमार गजुरेलका अनुसार अब काठमाडौं क्षेत्रमा बाँकी केही दृश्य छायांकन गरिनेछ । छायांकन कार्य सम्पन्न भएसँगै सम्पादनको काम तीव्र रूपमा अघि बढाइने र छिट्टै प्रदर्शन मिति घोषणा गरिने तयारी रहेको उहाँले बताउनुभयो ।

लामो समयपछि निरुता सिंह र उत्तम प्रधान ठूलो पर्दामा एकसाथ फर्किन लागेको यस चलचित्रप्रति दर्शकमाझ विशेष चासो देखिएको छ । सामाजिक कथावस्तुमा आधारित ‘सारथी’ले गुर्जा क्षेत्रको मौलिक संस्कृति, परम्परागत जीवनशैली, ढुंगा-माटोले बनेका घर, छन्त्याल तथा दलित समुदायको जनजीवन र गुर्जा–चुरेन हिमालको प्राकृतिक सौन्दर्यलाई पर्दामा उतारेको निर्माण पक्षले जनाएको छ ।

निर्देशक गजुरेलले चलचित्रले गुर्जा क्षेत्रको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । चलचित्रमा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कँडेल र धिरेन मोक्तानलगायत कलाकारको अभिनय छ ।
किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्मस्को सहकार्यमा निर्माण भइरहेको चलचित्रका निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुनुहुन्छ । धीरज तामाङ र बेकबहादुर विश्वकर्मा सहनिर्माता तथा प्रदीप रायमाझी र दीप श्रेष्ठ कार्यकारी निर्माता रहनुभएको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार