काठमाडौं,
जेठ १० ।
चेतन राईको नयाँ गीत ‘सम्बन्ध’ सार्वजनिक भएको छ । बेलायत निवासी नेलशन राईको शब्द-रचनामा तयार भएको गीतमा संगीत तथा भिडियो निर्देशन स्वयं चेतन राईकै रहेको छ ।
ओएसआर डिजिटलमार्फत् सार्वजनिक गीतको भिडियोमा पारिवारिक सम्बन्ध र प्रेमको भावलाई केन्द्रमा राखेर निर्माण गरिएको छ । सानातिना विवाद भए पनि अन्ततः प्रेम नै सम्बन्धको आधार बन्ने सन्देश गीतमा प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा कमल सिंह, शीला गजुरेललगायत भारतीय बालकलाकार जान्हवी डागा र सानवी डागाको अभिनय छ । भिडियोको छायांकन, कलर, ड्रोन तथा सम्पादन सूर्य लामाले गर्नुभएको हो ।
‘सेभेन’, ‘साउण्ड’, ‘स्टेप’ र ‘स्टेज’ जस्ता एल्बम सार्वजनिक गरिसक्नुभएका चेतनको ‘सम्बन्ध’ गीत उहाँको पाँचौं एल्बम ‘स्पिड’ मा समावेश छ । आधुनिक, पप तथा लोकपप विधामा सक्रिय उहाँले सात दर्जनभन्दा बढी गीतमा स्वर दिनुभएको छ ।
प्रस्तोता समाज नेपालका सदस्य तथा नेपाल संगीत कल्याण कोषका सचिवसमेत रहनुभएका चेतन राई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा अवार्डबाट सम्मानित हुनुहुन्छ ।






