काठमाडौं ।
जेठ १ ।
चलचित्र पत्रकार संघ नेपालले पत्रकारमाथि भएको कुटपिट तथा दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । संघका महासचिव गोपिकृष्ण चापागाईंद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कलाकारहरूको उपस्थितिमा सम्पन्न एक सार्वजनिक कार्यक्रममा भिडियो रिपोर्टिङ गर्ने क्रममा हिट नेपाल युट्युब च्यानलका क्यामेरा पर्सन सरोज मोक्तानले संघका केन्द्रीय सदस्य तथा गण्डकी लाइभ डटकमका सम्पादक पत्रकार दिनेश थापामाथि कुटपिट तथा दुर्व्यवहार गरेका हुन् ।
संघले रिपोर्टिङजस्तो पेशागत कार्यमा संलग्न पत्रकारमाथि धम्की, हातपात तथा रक्ताम्मे हुने गरी गरिएको आक्रमणलाई केवल एक व्यक्तिमाथिको हिंसा नभई समग्र प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामाथिको प्रहारका रूपमा व्याख्या गरेको छ ।
विज्ञप्तिमा पत्रकारिताको नाममा क्यामेरा बोकेर दादागिरी, धम्की तथा हिंसात्मक व्यवहार प्रदर्शन गर्ने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै यस्ता गतिविधिले सञ्चार क्षेत्रलाई बदनाम बनाउनुका साथै सभ्य र मर्यादित पत्रकारिताको गरिमामाथि आघात पुगेको जनाएको छ ।
घटनाका प्रत्यक्षदर्शीसमेत रहेका संघका सचिव मदन रिजालले दुवै पक्षसँग समन्वय गर्नुका साथै घाइते पत्रकार दिनेश थापाको प्राथमिक उपचारमा सहजीकरण गरेको जानकारी पनि विज्ञप्तिमा दिइएको छ ।
संघले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै, यस्ता अमानवीय तथा गैरजिम्मेवार गतिविधि तत्काल बन्द गर्न चेतावनी दिँदै भविष्यमा यस्ता घटना दोहोरिए संघ थप सशक्त रूपमा उभिने स्पष्ट पारेको छ ।
घाइते पत्रकार दिनेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संघले पत्रकारमाथि हुने कुनै पनि प्रकारका हिंसा, दुर्व्यवहार, धम्की तथा दमनविरुद्ध सधैं श्रमजीवी पत्रकारहरूको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएको छ ।
त्यस्तै, पत्रकार उपस्थित हुने सार्वजनिक कार्यक्रमहरूमा पत्रकारबाहेक अनधिकृत व्यक्तिहरूलाई प्रवेश वा संलग्न नगराउन सम्बन्धित आयोजक तथा पक्षहरूलाई विशेष अनुरोधसमेत गरिएको छ ।






