काठमाडौं,
वैशाख २३ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपालको चौथो महाधिवेशन यही वैशाख २७ गते आइतबार बिहान १०ः३० बजे नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण सभाकक्ष, कमलादीमा हुने भएको छ । वैशाख १४ गते पूर्व अध्यक्षहरू राधेश्याम लेकाली र सन्ध्या पहाडीसहित बसेको कार्यसमितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो । बैठक अनेसास नेपालका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा संस्थाकै कार्यालयमा सम्पन्न भएको थियो ।
अनेसास नेपालको जानकारीअनुसार महाधिवेशनमा करिब पाँच सय आजीवन सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमअन्तर्गत उद्घाटन सत्र बिहान १०ः३० बजे सुरु हुनेछ भने बन्द सत्र दिउँसो १ः३० बजे आयोजना गरिनेछ । बन्द सत्रपछि नयाँ कार्यसमितिको निर्वाचन हुने कार्यक्रम रहेको छ ।
अध्यक्ष केसीका अनुसार महाधिवेशनमा स्मारिकाको लोकार्पण, राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार समर्पण तथा अन्य सम्मान कार्यक्रमहरू पनि समावेश गरिएका छन् । साथै, बन्द सत्रमा आर्थिक प्रतिवेदन र महासचिवको प्रतिवेदन प्रस्तुत गरिने जनाइएको छ ।






