आज राष्ट्रिय चिया दिवस, विविध कार्यक्रमगरी मनाइँदै

काठमाडौं,
वैशाख १५ ।

‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज (वैशाख १५ अर्थात् मंगलबार) विविध कार्यक्रसहित ३०औँ राष्ट्रिय चिया दिवस मनाइँदै छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा यस वर्षको चिया दिवसको औपचारिक कार्यक्रम आज सूर्योदय नगरपालिका, फिक्कल, इलाममा सञ्चालन हुँदैछ ।

आयोजकका अनुसार कार्यक्रमको प्रमुख आकर्षणका रूपमा विभिन्न सात विधामा उत्कृष्ट चिया कृषक, उद्योग तथा सहकारीलाई सम्मान गरिनेछ भने टी च्याम्पियन प्रतियोगिताका विभिन्न पाँचवटा विधाका उत्कृष्ट चिया उत्पादकलाई पुरस्कृत गरिनेछ ।

१९२० मा इलामका तत्कालीन बडाहाकिम कर्णेल गजराज सिंह थापाले इलाममा चिया कमान स्थापना गरी सुरु भएको नेपाली चिया खेती पछिल्लो समय देशव्यापी बन्दै गएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा कुल २० हजार छ सय दुई हेक्टरमा चिया रोपण गरिएको छ भने सो अवधिमा दुई करोड ६१ लाख केजी तयारी चिया उत्पादन भएको छ । नेपालमा १५ हजार एक सय ३२ जना चिया कृषक, एक सय ७० वटा टिस्टेट र साना मझौला गरी एक सय २० वटा चिया प्रशोधन केन्द्रमार्फत् करिब ६० हजार रोजगारी सिर्जना गरेको अनुमान गरिन्छ ।

त्यसैगरी, भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा एक करोड ५६ लाख केजी चिया निर्यात गरेर नेपालले चार अर्ब ५९ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार