कृष्ण जन्माष्टमीमा ‘बाः एक योद्धा’

काठमाडौं,
वैशाख १५ ।

संगीतकार हरि लम्सालको डेब्यू निर्देशकीय चलचित्र ‘बाः एक योद्धा’ कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गते (४ सेप्टेम्बर)बाट प्रदर्शनमा आउने भएको छ । सोमबार निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेनमेन्टले थिम पोस्टरमार्फत प्रदर्शन मितिबारे जानकारी दिएको हो । यही मितिमा अरु दुई चलचित्र ‘ककाकिकी’ र ‘स्टेशन’ पनि प्रदर्शन हुँदैछन् ।

यस चलचित्रमा अभिनेत्री द्वय झरना थापा र सुहाना थापाले मुख्य भूमिकामा अभिनय गर्नुभएको छ । पहिलो पटक यी आमाछोरी एकसाथ चलचित्रमा देखिन लाग्नुभएको हो । निर्देशक लम्सालका अनुसार उहाँहरू चलचित्रमा आमा-छोरीकै भूमिकामा प्रस्तुत हुनुभएको छ । अभिनेता दिव्यदेव पन्तको पनि चलचित्रमा मुख्य भूमिका रहनुभएको छ ।

निर्देशक लम्साल स्वयंको कथा तथा पटकथा रहेको यस चलचित्रलाई संगीतकार वसन्त लम्सालले निर्माण गर्नुभएको हो । उहाँले यसअघि विपिन कार्की र उपासना सिंह ठकुरीलाई लिएर चलचित्र ‘कर्मा’ बनाउनुभएको थियो । ‘बाः एक योद्धा’ उहाँको दोस्रो निर्माण हो । यसमा शिवराम श्रेष्ठको छायांकन छ भने मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहनुभएको छ ।

यो चलचित्रले बाबुको महत्त्व र योगदानलाई केन्द्रमा राखेको निर्देशक लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार चलचित्रमा एक बाबुले सन्तानका लागि गर्ने त्याग, जीवनभर भोग्ने चुनौती र संघर्षलाई मुख्य कथावस्तुका रूपमा प्रस्तुत गरिएको छ । ग्रामीण र सहरी दुवै परिवेशमा बाबुले बोक्ने जिम्मेवारीलाई चलचित्रमार्फत उजागर गरिएको उहाँको भनाइ छ ।

यसमा तपाइको मत

अन्य समाचार