सुर्खेत,
वैशाख १३ ।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ सम्पन्न भएको छ । ‘घुमौं कर्णाली, हेरौं कर्णाली’ तथा ‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ भन्ने नारासहित सम्पन्न महोत्सवले कर्णाली प्रदेशको कला, संस्कृति, पर्यटन सम्भावना र चलचित्र क्षेत्रको विकासलाई जोड्ने महत्त्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गरेको छ ।
चलचित्र विकास बोर्डको सक्रिय सहभागिता तथा सहकार्यमा सम्पन्न महोत्सवले कर्णालीलाई चलचित्र छायांकनका लागि आकर्षक गन्तव्य, कथा विकासको स्रोतभूमि र चलचित्र पर्यटनको सम्भावनायुक्त क्षेत्रका रूपमा अघि बढाउने उद्देश्य राखेको थियो । आयोजकका अनुसार बोर्डको संलग्नताले महोत्सवलाई केवल चलचित्र प्रदर्शनमा सीमित नराखी नीति निर्माण, सहकार्य विस्तार, पर्यटन प्रवर्द्धन र दीर्घकालीन चलचित्र विकाससँग जोड्ने आधार तयार गरेको छ ।
महोत्सवका क्रममा कर्णाली प्रदेश सरकारले चलचित्र क्षेत्रको विकासका लागि ठोस नीति तथा बजेटगत प्रतिबद्धता जनाएको छ । साथै, कर्णाली प्रज्ञा प्रतिष्ठानमार्फत कर्णालीमा छायांकन गर्न इच्छुक निर्माता-निर्देशकलाई विशेष सहकार्य र प्रोत्साहन उपलब्ध गराइने घोषणा गरिएको छ ।
यसै अवसरमा चलचित्र कथा प्रतियोगिताको शुभारम्भ गरिएको छ । कर्णालीको भूगोल, जीवनशैली, संस्कृति, भाषा, इतिहास र जनजीवनलाई चलचित्र कथाको मूल स्रोतका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता सुरु गरिएको आयोजकले जनाएको छ ।
महोत्सवले कर्णालीलाई अन्तर्राष्ट्रिय ‘सुटिङ हब’का रूपमा विकास गर्ने दीर्घकालीन योजनातर्फ सहमतिको वातावरण सिर्जना गरेको छ । सोही क्रममा सल्यानको कुपिण्डे दहमा विशेष चलचित्र पर्यटन समारोह आयोजना गरिएको थियो, जसले कर्णालीका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाह, प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलगायत चलचित्र क्षेत्रका अग्रज व्यक्तित्व, निर्माता, निर्देशक, कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता थियो ।






