काठमाडौं,
वैशाख १३ ।
साहित्यकार डेलचन्द्र शर्माको कविता तथा निबन्धसंग्रह ‘माटो र म’ एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ र मिलाप मासिकको संयुक्त आयोजनामा अनामनगरस्थित डालो रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा उपस्थित साहित्यिक व्यक्तित्वहरूले सामूहिक रूपमा कृतिको विमोचन गरेका थिए ।
संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । हाल अमेरिकामा बसोवास गर्दै आउनुभएका शर्माको यो पहिलो कृति हो । कार्यक्रममा उहाँलाई विशेष सम्मानसमेत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष सभापति राधेश्याम लेकालीले साहित्यिक पत्रकार संघले हालसम्म सञ्चालन गरेका गतिविधिबारे जानकारी गराउँदै कवि शर्माको कृतिको प्रशंसा गर्नुभयो । उहाँले विदेशमा रहेर पनि मातृभूमिप्रति सकारात्मक सोच र भावना अभिव्यक्त गर्न सकिने उदाहरण ‘माटो र म’ भएको उल्लेख गर्नुभयो । साथै कविता र निबन्धलाई एउटै कृतिमा समेट्दा प्राविधिक जटिलता देखिन सक्ने भएकाले आगामी कृतिहरू प्रकाशन गर्दा प्रकाशन गृहसँग सहकार्य गर्न सुझाव दिनुभयो ।
लोकार्पित कृतिमाथि सरु पोखरेल र चन्द्रमणि गौतमले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै कृतिमा देशप्रेम, पारिवारिक सम्बन्ध तथा जनजीवनका विविध आयामहरू समेटिएको उल्लेख गर्नुभयो ।
वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहालले स्रष्टा शर्मासँगको पारिवारिक सम्बन्ध उजागर गर्दै उहाँलाई थप कृतिका लागि आग्रह गर्नुभयो । उहाँले विगतका दिन स्मरण गर्दै नेपाली परिवेश र साहित्यका मानकका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले ३० को दशकमा शर्मासँगको सम्बन्ध, पत्रकारिता गर्दाको समयबारे आफ्ना धारणा राख्नुभएको थियो । प्रा. दाहालले त्यो समयमा आफूहरूले पत्रकारिताको जरा बचाउने काम गरेको स्मरण गर्दै तत्कालीन समयमा गरिएको संघर्ष सम्झिनुभयो । ‘सिर्जनात्मक कृतिले मानिसलाई लामो समयसम्म बचाउँछ । डेल दाइले कृति प्रकाशित गरेर राम्रो काम गर्नुभएको छ,’ उहाँले भन्नुभयो ।
यस्तै, विष्णु न्यौपाने र सूर्य कोइरालाले शुभकामना मन्तव्य व्यक्त गर्दै कवि शर्मालाई बधाई दिनुभएको थियो । कवि डेलचन्द्र शर्माले आफ्नो लेखकीय मन्तव्य राख्दै पुस्तक प्रकाशन र लोकार्पणका लागि सहयोग पुर्याउने सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा आफ्नो कृतिबाट एक कविता वाचनसमेत गर्नुभएको थियो ।
कार्यक्रममा मिलापका प्रधान सम्पादक कृष्ण भुसालले उपस्थित सम्पूर्ण साहित्यकार तथा साहित्यप्रेमीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने गीता अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
उक्त समारोहमा प्राडा.गोविन्दमानसिंह कार्की, साहित्यकार विमल भौकाजी, राजेश खनाल, शंकर भारती, राजेन्द्र केसी, सन्ध्या पहाडी, शोभा अधिकारी, शान्ता दाहाल, डा.बुनु दाहाल, डि.आर.राई, प्रकाश घायल, माधव बिंडारी चेतनपथ, कृष्ण प्रसाईं, कृष्ण लम्साल, रामचन्द्र काफ्ले, विनोद वत्स, रूद्रानन्द स्वामी, धर्मराज बराल, पोषण शर्मा, सागर भुसाल, सन्देश श्रेष्ठ, पूर्णप्रसाद मिश्र, खडानन्द कँडेल, जयराम सापकोटालगायतका साहित्यक व्यक्तित्वहरूको उपस्थिति थियो ।
कार्यक्रमको सहजीकरण कवि, गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ले गर्नुभएको थियो । सञ्चालनका क्रममा उहाँले कृतिभित्र समावेश केही कविताका अंशहरू वाचन गरी कार्यक्रमलाई थप आकर्षक बनाउनुभएको थियो ।






