काठमाडौं,
चैत ३० ।
नयाँ वर्षको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको एक्सनप्रधान चलचित्र ‘राम नाम सत्य’ले घरेलु बक्स अफिसमा सुखद सुरुवात गरेको छ । चलचित्रले पहिलो दिन देशव्यापी ३० प्रतिशत हाराहारी अकुपेन्सी हासिल गरेको थियो । चलचित्रको चर्चा अनुसार यो अपेक्षित नभए पनि गत माघमा प्रदर्शन भएको ‘आ बाट आमा’पछिकै उच्च ओपनिङ अकुपेन्सी हो ।
दोस्रो दिन शनिबार भने चलचित्रको अकुपेन्सीमा केही वृद्धि देखियो । काठमाडौंका अष्टनारायण, कीर्तिपुर सिनेप्लेक्स, लबिम मल, बिग मुभिज लगायतका हलमा दर्शकको चाप उल्लेख्य देखिएको थियो । नेपालगञ्ज, धनगडी, विर्तामोड, धरान लगायतका सहरमा पनि फिल्मले सन्तोषजनक व्यापार गर्यो । समग्रमा शनिबार फिल्मको देशव्यापी अकुपेन्सी ५० प्रतिशतमाथि थियो ।
चलचित्र प्रदर्शनमा आएसँगै कलाकारदेखि निर्देशकसम्म काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकहरूसँग साक्षात्कार गरिरहेका छन् । शनिबार चलचित्रका मुख्य अभिनेता विराज भट्ट बालाजुस्थित अष्टनारायण हलमा पुग्दा दर्शकले हुटिङ गर्दै ‘विराज भट्ट शान हो, विराज भट्ट बाघ हो’ भन्दै नारा लगाएका थिए । त्यहाँ करिब एक हजार दर्शकले चलचित्र हेरेका थिए ।
चलचित्रको व्यापार र दर्शक प्रतिक्रियाबाट विराज उत्साहित देखिनुभएको छ । उहाँले ‘राम नाम सत्य’को दोस्रो भाग बन्ने पनि जानकारी दिनुभयो । सिक्वेलका लागि केही प्रतिशत छायांकन भइसकेको उहाँको भनाइ छ । त्यसो त चलचित्रको पोस्ट-क्रेडिटमार्फत नै दोस्रो भागको घोषणा गरिएको छ । चलचित्रको दोस्रो भाग टिकटक स्टार आयुष सिंह ठकुरीमा केन्द्रित हुने देखिन्छ । किनकि, चलचित्रको अन्तिम दृश्यमा उहाँलाई नै प्रस्तुत गर्दै ‘राम नाम सत्य २’ घोषणा गरिएको छ ।
माइकल चन्दको निर्देशनमा बनेको यस चलचित्रमा विराजसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनिल थापा, प्रशान्त ताम्राकार, आयुषसिंह ठकुरी, खुशी कार्की, दिनेश डिसी लगायतका कलाकारहरूको अभिनय छ । चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता हुनुहुन्छ ।






