काठमाडौं,
चैत २८ ।
आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परालको आगो’को अर्को गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ । ओएसआरको युटुब च्यानलमार्फत सार्वजनिक गीतमा सत्यराज आचार्य र मेलिना राईले स्वर दिनुभएको छ ।
सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा सत्यसहित स्वरुप आचार्यले संगीत भर्नुभएको छ । यस गीतलाई म्युजिक प्रोडक्सनको काम रिकेश गुरुङको छ ।
सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुतको जोडी देखनिुभएको छ भने अर्का जोडी सौगात मल्ल र सिर्जना अधिकारी देखनिुभएको छ । उहाँहरूको केमेष्ट्री मिलेको देखिन्छ । ग्रामिण परिवेशको यस गीतको भिडियोलाई कोरियोग्राफी रामजी लामिछानेले गर्नुभएको हो । यसअघि यो चलचित्रको ‘उडि जाउँ भने म पंक्षी होइन’बोलको गीतले दर्शकको साथ पाइरहेको छ ।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस चलचित्रमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय छ । लक्ष्मण सुनारले निर्देशन गरेको यस चलचित्रमा संकल्प भुजेलको छायांकन छ ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील पोखरेलको लगानी रहेको छ । चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेख्नुभएको हो ।






