महिला चेम्बरद्वारा हीरक जयन्तीका अवसरमा सम्मान

काठमाडौं,
चैत २१ ।

नेपाल महिला चेम्बरले नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्तीका अवसरमा देशका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महिलाहरूलाई विशेष सम्मान प्रदान गरेको छ । ‘अग्रणी महिला सम्मान’ कार्यक्रममा राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुदलगायत विविध क्षेत्रमा योगदान दिने जीवित तथा दिवंगत महिलाहरूको योगदानको स्मरण गर्दै सम्मान गरेको हो । हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठलगायतले संयुक्त रूपमा सम्मान प्रदान गर्नुभएको थियो ।

सम्मानित हुनेमा पूर्वसभामुख ओनसरी घर्ती मगर, पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, लैंगिक अधिकारविज्ञ चाँदनी जोशी, पहिलो महिला इञ्जिनियर शान्ति मल्ल, शिक्षाविद् अगाथा थापा, पहिलो महिला कमर्सियल पाइलट रक्षा राणा रहेका छन् ।

त्यस्तै, कला तथा मनोरञ्जनतर्फ भुवन चन्द, मनिषा कोइराला, कलाकार स्नेहा श्रेष्ठ, ओलम्पियन संगिना वैद्य, दृष्टिविहीन शिक्षिका सीता ज्ञवालीलाई सम्मान गरिएको छ । सो अवसरमा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको योगदानको स्मरणसमेत गरिएको थियो ।

दिवंगत व्यक्तित्वहरूमा योगमाया न्यौपाने, पारिजात, शैलजा आचार्य, सहाना प्रधान, पासाङ ल्हामु शेर्पालगायतको योगदानको कदर गर्दै सम्मान अर्पण गरिएको थियो भने नेपाल महिला चेम्बरसँग आबद्ध भई हालै सम्पन्न निर्वाचनबाट संघीय सांसद बन्न सफल लिमा अधिकारी, वसुमाया तामाङ, नीतिमा कार्की भण्डारी तथा इन्दिरा राना मगरलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले विभिन्न क्षेत्रका पथप्रदर्शक महिलालाई सम्मान गर्न पाउनु गौरवको विषय भएको भन्दै सम्मानितहरूको योगदानले नयाँ पुस्तालाई प्रेरणा प्रदान गरिरहेको बताउनुभएको थियो ।

चेम्बर अध्यक्ष अग्रवालले चेम्बरको गौरवपूर्ण इतिहासलाई यस्ता कार्यक्रमले अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै महिलाहरूको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उजागर गर्न सहयोग पुग्ने बताउनुभएको थियो । नेपाल महिला चेम्बरकी अध्यक्ष श्रेष्ठले महिला सशक्तीकरण र उद्यमशीलता विकासलाई केन्द्रमा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार