काठमाडौं,
चैत १८ ।
वैशाख १ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘पहाड’ को दोस्रो गीत ‘ॐ नम शिवाय’ सार्वजनिक गरिएको छ । निर्देशक तुलसी घिमिरेकै शब्द रहेको गीतमा भारती घिमिरे र शिव परियारको स्वर सुन्न सकिन्छ भने रञ्जित सिंह गजमेरको संगीत छ ।
सार्वजनिक गीतको भिडयिोमा नव अभिनेत्री पञ्चमी घिमिरे, अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा लगायतलाई देख्न सकिन्छ । चलचित्रको कथासँगै जोडिएको यो गीतलाई सेट निर्माण गरेर छायांकन गरिएको निर्देशक तुलसी घिमिरेले बताउनुभयो । ‘यो गीत फिल्मका लागि महत्वपूर्ण छ, यो गीतपछि फिल्मको कथाले नयाँ मोड लिन्छ । हामीले झन्डै १३ दिन लगाएर सेट निर्माण गरेर यो गीतलाई तीन रात खिचेका थियौँ, फिल्मको महत्वपूर्ण समयमा आउने गीत भएकाले यसमा अधिकाँस कलाकारलाई फिचर्ड गराएका छौँ,’ उहाँले भन्नुभयो ।
निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर चलचित्र तयार गरेको बताउनुभयो । ‘यो विषयलाई फिल्मको माध्यमबाट आम दर्शकसम्म पुर्याउनु पर्छ भन्ने लागेर मैले फिल्म बनाएको हुँ । यसमा मनोरन्जनसँगै एउटा महत्वपूर्ण संदेश पनि छ’, निर्देशक घिमिरेले भन्नुभयो, ‘ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता, सहरभन्दा गाउँ उपयुक्त रहेको लगायतका सन्देश गीतमा छ ।’
यस चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताउनुभयो ।
निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गर्नुभएका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गर्नुभएका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गर्नुभएको छ । चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गर्नुभएको हो ।
भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसक्नुभएका छायांकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका चलचित्रमा सहकार्य गर्नुभएको छ ।
भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय छ ।
निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीको रुपमा डेब्यु गर्नुभएको हो । यस्तै, चलचित्रको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हाल्नुभएको छ ।






