काठमाडौं,
चैत १६ ।
विश्वभर रहेका नेवाः समुदायले संयुक्त रूपमा मनाउँदै आएको हलिं नेवाः दिवस (वर्ल्ड नेवाः डे) को अवसरमा साहित्य, पत्रकारिता, कला तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । यस वर्ष मार्च २८ तारिख शनिबार परेको नवौँ हलिं नेवाः दिवस ‘विश्वभर जहाँ रहे पनि हामी नेवाः’ भन्ने नाराका साथ मनाइएको हो । काठमाडौंको वसन्तपुरमा आयोजित समारोह काठमाडौं महानगरपालिकाकी कार्यबाहक नगर प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रम हलिं नेवाः दबू नेपाः मू कवःका अध्यक्ष रमेशमान मुनिकारको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा साहित्य एवं पत्रकारिता क्षेत्रमा योगदान पुर्याउनुभएका रमेशकाजी स्थापितलाई ‘भीम तुलसी नेपालभाषा पत्रकारिता सिरपाः’ तथा सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएका सिने पत्रकार विजयरत्न तुलाधर असंबरेलाई ‘हरिश्चन्द्र लुमन्ति सिरपाः’ प्रदान गरिएको थियो । प्रमुख अतिथि डंगोलले उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
त्यसैगरी, गायिका तथा संगीतज्ञ रिता महर्जनलाई ‘रमेश ताम्राकार लुमन्ति सिरपाः’, वरिष्ठ नाट्यविद् वीणा जोशी राजभण्डारीलाई ‘सबिता महर्जन मुनिकार लुमन्ति सिरपाः’, संगीतकार जुगल डंगोललाई ‘जयराम श्रेष्ठ लुमन्ति सिरपाः’ तथा रिता दुवाललाई ‘अमृता शाक्य सिर्जना सिरपाः’ प्रदान गरिएको थियो । एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईलाई विशेष पुरस्कारबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा नेवाः संस्कृति, व्यापार, कला लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने अन्य व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा पर्यटन व्यवसायी योगेन्द्र शाक्य, कार्डियोलोजिस्ट डा. राजेन्द्र कोजु, चलचित्रका एक्शन निर्देशक राजेन्द्र खडगी, चलचित्रकर्मी रजिला श्रेष्ठ, होटल व्यवसायी संगीता श्रेष्ठ, उद्योगी प्रदीपकुमार श्रेष्ठ, गणेश भैरव व्यवस्थापन समिति, भाषाविद् विष्णु चित्रकार, सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ तथा प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठ रहनुभएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि सुनिता डंगोलले विश्वभर रहेका नेवाः समुदायबीचको एकता प्रशंसनीय रहेको बताउनुभयो । त्यस्तै नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के। सुन्दरले हलिं नेवाः दिवसले सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष रमेशमान मुनिकारले स्वागत मन्तव्य राख्नुभएको थियो भने सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ, एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राई लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा गायक नरेनमान महर्जन, सत्यनारायण मानन्धर, सरस्वती मानन्धरलगायत कलाकारहरूले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।






