दोस्रो संस्करणको ‘ग्लोबल स्टार अवार्ड’का लागि आवेदन आह्वान

काठमाडौं,
चैत ६ ।

‘ग्लोबल स्टार अवार्ड’का लागि आवेदन आह्वान गरिएको छ । गत वर्षको सफल पहिलो संस्करणपछि यस वर्ष कार्यक्रमलाई अझ भव्य, व्यवस्थित र प्रभावशाली बनाउने तयारीका साथ आयोजकले दोस्रो संस्करणलाई आवेदन आह्वान गरेको हो ।

कार्यक्रम राजधानीस्थित नेपाल पुलिस क्लबमा आयोजना गरिने आयोजकले जनाएको छ । अवार्डको आयोजना दक्ष इन्टरनेशनलले गर्दै आएको छ भने संस्थाका प्रमुख तथा आयोजक समितिका अध्यक्ष, वरिष्ठ सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेको नेतृत्वमा कार्यक्रम सम्पन्न हुनेछ । यस वर्षको अवार्डमा एसोसिएट पार्टनरका रूपमा प्याजेन्ट नेपाल रहने जनाइएको छ ।

अवार्ड समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सक्रिय रहँदै आ-आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका दक्ष, प्रतिष्ठित तथा चर्चित व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिनेछ । विभिन्न पेशा तथा क्षेत्र-कला, संस्कृति, सौन्दर्य, व्यवसाय, सामाजिक सेवालगायतमा लामो समयदेखि समर्पित भई उत्कृष्ट उपलब्धि हासिल गरेका व्यक्तित्वलाई जुरी टिमको मूल्यांकनका आधारमा छनोट गरिने आयोजकले जानकारी दिएको छ ।

अध्यक्ष पाण्डेका अनुसार यस अवार्डको मुख्य उद्देश्य विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका व्यक्तित्वहरूको सम्मान गर्नुका साथै उनीहरूको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउनु हो । ‘हामी प्रतिभा, मिहिनेत र समर्पणलाई कदर गर्दै उनीहरूलाई उचित प्लेटफर्म प्रदान गर्न चाहन्छौं’, उहाँले बताउनुभयो ।

गतवर्ष सोही स्थानमा सम्पन्न पहिलो संस्करणले व्यापक सफलता हासिल गरेको थियो । कार्यक्रममा देश तथा विदेशका विभिन्न क्षेत्रका विज्ञ, व्यावसायिक तथा प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो, जसले अवार्डलाई विश्वास योग्य र प्रतिष्ठित बनाएको आयोजकको दाबी छ ।

यसमा तपाइको मत

अन्य समाचार