पोखराबाट ‘जिरो डिग्री’

काठमाडौं,
चैत २ ।

चलचित्र ‘जिरो डिग्री’को छायांकन सुरु भएको छ । आइतबार बिहान पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभमुहूर्त गरेसँगै यस चलचित्रको छायांकन आरम्भ गरिएको हो ।

विजय बरालको मुख्य भूमिका रहने यो चलचित्रको पहिलो सटमा विजयसहित प्रकाश घिमिरे, राजन भुसाल र शारदा सिलवालले अभिनय गर्नुभएको थियो ।

आकाश बराल र साजन काफ्लेको निर्देशनमा बन्ने यस चलचित्रमा सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, सबिना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल लगायतका कलाकारहरूको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ । चलचित्रमा निर्देशकद्वय बराल र काफ्ले स्वयंको लेखन छ भने कास्टिङ सन्जोग रसाइलीले गर्नुभएको हो ।

सडक सञ्जालले नछोएको एक गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नआइपुग्दासम्म शव सुरक्षित राख्न सहरबाट ‘डीप फ्रिज’ बोकेर गाउँ भित्र्याएपछि उत्पन्न हुने परिस्थितिलाई यस चलचित्रमा प्रस्तुत गरिनेछ । निर्देशक काफ्लेका अनुसार चलचित्रमा फ्रिज गाउँसम्म पुर्‍याउने प्रसंग मात्र नभइ लाइट कमेडी कथा पनि रहेको छ ।

मोती कार्की कार्यकारी निर्माता रहेको यस चलचित्रलाई निशाल पौडेलले छायांकन गर्दैहुनुहुन्छ भने सम्पादन चानस पुन मगर र रंग संयोजन राजेन्द्र मोक्तानले गर्नुहुनेछ । चलचित्रमा अङ्कित बाबु अधिकारीको संगीत तथा युवराज काफ्लेको शब्द रचना छ । चलचित्रको पब्लिसिटी डिजाइन रोयल भीमसेन नेतृत्वको ट्राइडेन्ट कन्सेप्टले गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार