काठमाडौं,
फागुन ३० ।
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘कालकट्टी’ को गीत रेकर्डिङ्ग कार्य सम्पन्न भएको छ । गीतमा समीक्षा अधिकारीले स्वर दिनुभएको छ । काठमाडौंको डिबिएचडी स्टुडियोमा गीतको रेकर्डिङ गरिएको हो ।
भीम बिस्टको शब्द रचना तथा संगीत रहेको उक्त गीतको संगीत संयोजन (एरेन्ज) एचबिएन किस्मतले गर्नुभएको छ । अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने चलचित्रको यस चलचित्रको छायांकन चैत महिनाबाट सुरु हुने निर्माता रघुनाथ सापकोटाले जानकारी दिनुभयो ।
चलचित्रका लागि हाल कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको छ । निर्देशक सापकोटा स्वयंले चलचित्रको कथा, पटकथा तथा संवाद तयार पार्नुभएको हो ।
चलचित्रमा निसाल पौडेलको छायांकन रहनेछ। चलचित्रलाई देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित गरिएको छ ।






