चार स्रष्टालाई ‘व्यथित काव्य सम्मान २०८२’

काठमाडौं,
फागुन २६ ।

साहित्यिक पत्रकार संघले चार जना कविलाई ‘व्यथित काव्य सम्मान २०८२’ प्रदान गर्ने भएको छ । संघले जारी गरेको विज्ञप्तिअनुसार कवि विमला तुम्खेवा र मीनकुमार नवोदितलाई ‘व्यथित काव्य सम्मान २०८२’बाट सम्मानित गर्ने निर्णय गरिएको छ ।

यसैगरी ‘व्यथित काव्य डायस्पोरा सम्मान २०८२’बाट कवि लालगोपाल सुवेदी र दीपा राई पुन (अमेरिका)लाई सम्मान गरिने भएको छ ।
वरिष्ठ कवि तथा समालोचक प्रमोद प्रधानको संयोजनमा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समितिको सिफारिसमा संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

कवि विमला तुम्खेवाका विमला तुम्खेवाका कविताहरू(२०५५), नदी छाल र तरङ्गहरू (२०६०), संस्मरण एउटा बूढो रुखको (२०६५) र हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे (२०७०) लगायत कृतिहरू प्रकाशित छन् । उहाँले नेपाल-बेलायत प्रतिभा राष्ट्रिय पुरस्कार, अमर नेम्वाङ स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार, गुञ्जन राष्ट्रिय प्रतिभा पुरस्कार, विश्व प्रतिभा युवा पुरस्कार, नेपाली प्रतिभा पुरस्कार तथा नेपाल सरकारको राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।

कवि मीनकुमार नवोदितका फूलबारीभित्रका भमराहरू (२०५७), झरीले रुझेको गाउँ (२०७०) र समयको बयान (२०७८) लगायत कवितासंग्रह प्रकाशित छन् । उहाँले युवा वर्ष मोती पुरस्कार-२०७७, डा. नरेन्द्र चापागाईं स्मृति युवा साहित्य पुरस्कार-२०७१, चितवन साहित्य परिषद् साहित्य पुरस्कार-२०७९, युवा साहित्य पुरस्कार-२०७४ तथा नवरंग साहित्य प्रतिष्ठान सम्मान लगायत विभिन्न पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।

कवि लालगोपाल सुवेदीका ‘फूलको देशमा, छायालाई माया नगर्नुहोस्, अग्नि आतङ्क, बिक्रीमा पृथ्वी, पानी, योगमाया र इन्द्रेनी तथा सबाल्टर्न पात’ लगायत दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । उहाँले युवा वर्ष मोती पुरस्कार तथा राष्ट्रिय प्रतिभा पुरस्कारसहित दर्जनौँ पुरस्कार र सम्मान प्राप्त गर्नुएको छ ।

यसैगरी कवि दीपा राई पुनका ‘तिम्रो सपनाको म (२०६८), स्पन्दनका रागहरू (२०७०), छुटेको बागदाता (२०७२), दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू’ (२०७८) लगायत कृतिहरू प्रकाशित छन् । उहाँले प्रवासी नेपाली साहित्यिक प्रतिभा पुरस्कार, अनेसास-रबिना फाउन्डेशन सर्वोत्कृष्ट सुम्निमा पुरस्कार, नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अभिनन्दन-पत्र, ज्योति साहित्य सम्मान, राष्ट्रिय नारी सम्मान लगायत विभिन्न सम्मान प्राप्त गरिसक्नुभएको छ ।

विसं. २०३९ मा स्थापना गरिएको ‘व्यथित काव्य पुरस्कार’ साहित्यिक पत्रकार संघले नेपाली साहित्यका प्रतिभाशाली कविहरूलाई प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कारबाट दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मेघराज मन्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्णविराम, विजय बजिमय, मञ्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाईं, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसूदन गिरी, अनिलकुमार अनल, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धीरेन्द्र प्रेमर्षि, शशी थापा, डा. दामोदर पुडासैनी, सन्ध्या पहाडी, शेखर ढुङ्गेल, उदय निरौला, श्रवण मुकारुङ, रमेश श्रेष्ठ, कृसु क्षेत्री, मोमिला जोशी, गीता कार्की र ठाकुर बेलबासे सम्मानित भइसक्नुभएको छ ।

त्यस्तै ‘व्यथित काव्य डायस्पोरा सम्मान’बाट यसअघि हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत् नवोदित (बेलायत), शकुन ज्ञवाली (अमेरिका) तथा खेमनाथ दाहाल सम्मानित भइसक्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार