लघुकथाकृति ‘अर्थात् ऊ’ विमोचन

काठमाडौं,
फागुन १९ ।

साहित्यकार भीम राना ‘जिज्ञासु’को दोस्रो लघुकथाकृति ‘अर्थात् ऊ’ विमोचन गरिएको छ । काठमाडौंमा लघुकथा समाज, नेपालद्वारा आयोजित एक कार्यक्रमबीच उक्त कृति विमोचन गरिएको हो । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष तथा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृतिको विमोचन गर्दै कृतिकार राना २०४० को दशकदेखि नै साहित्य सिर्जनामा सक्रिय रहेको उल्लेख गर्नुभयो ।

पत्रपत्रिकामा निरन्तर लेखिरहे पनि उहाँले कृति प्रकाशनमा हतार नगरेको बताउँदै श्रेष्ठले ‘राम्रो लेख्नुपर्छ, बीचमा देखिएको अन्तर आफैं मेटिएर जान्छ’ भन्ने धारणा राख्नुभयो । उहाँले पछिल्लो समय साहित्य क्षेत्रमा विकृति मौलाउँदै गएको टिप्पणी गर्नुभएको थियो ।

कृतिका सम्पादक साहित्यकार विमल भौकाजीले रानाको लेखन यात्राको चर्चा गर्दै ‘अर्थात् ऊ’ पाठकमाझ महत्वपूर्ण कृतिका रूपमा प्रस्तुत भएको बताउनुभयो ।

कृतिकार रानाले लघुकथाकृति प्रकाशनको सन्दर्भ स्पष्ट पार्दै अब साहित्य लेखनमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो । प्रकाशन संस्थाका तर्फबाट केशव पराजुलीले राना पुनः साहित्य सिर्जनामा फर्किएकोमा खुशी व्यक्त गर्नुभयो । समाजका अध्यक्ष तुलसीहरि कोइरालाले रानाका अन्य कृतिहरू पनि छिट्टै पाठकमाझ आउने विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा सर्जकहरू श्रीबाबु कार्की, छविरमण सिलवाल र सुमन थापा संगमले कृतिभित्र समेटिएका लघुकथाहरू वाचन गर्नुभएको थियो ।यसअघि विभिन्न विधामा रानाका आठ पुस्तक प्रकाशित भइसकेका छन् । ‘अर्थात् ऊ’ भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार