‘चलचित्र कथा-लेखनसम्बन्धी एकदिने आधारभूत कार्यशाला’

काठमाडौं,
फागुन १९ ।

नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्डको सहयोगमा सञ्चालन गरिएको ‘चलचित्र कथा-लेखनसम्बन्धी एकदिने आधारभूत कार्यशाला’ को तेस्रो तथा अन्तिम संस्करण सम्पन्न भएको छ । काठमाडौंबाट सञ्चालन गरिएको उक्त कार्यशालाले नयाँ पुस्ताका कथा लेखकहरूलाई चलचित्र लेखनको आधारभूत ज्ञान र सीप प्रदान गर्ने लक्ष्य लिएको थियो ।

नेपाल फिल्म क्याम्पस परिसरमा आयोजित कार्यक्रममा कथा लेखनमा रुचि राख्ने २५ जना प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता थियो । सहभागीहरू विभिन्न शैक्षिक तथा पेशागत पृष्ठभूमिबाट आएका थिए, जसले नेपाली चलचित्र क्षेत्रमा कथा लेखनप्रति बढ्दो आकर्षण र सम्भावनालाई संकेत गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा भारतको फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इण्डियाबाट पोष्ट-ग्राजुएट गरी हाल नेपाल फिल्म क्याम्पसमा फिल्म निर्देशन विभाग प्रमुखका रूपमा कार्यरत केशव पाण्डेले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले चलचित्र कथा विज्ञान, तीन अंकीय संरचना, चरित्र निर्माण, द्वन्द्व विकास, दृश्य–संरचना, संवाद लेखन तथा कथा विकास प्रक्रियाका आधारभूत सिद्धान्तबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा उहाँले सफल चलचित्रका उदाहरूण प्रस्तुत गर्दै सशक्त कथावाचनको महत्व प्रष्ट्याएउनु भएको थियो ।

त्यसैगरी, पटकथा लेखक तथा फिल्म पत्रकार सामिप्यराज तिमिल्सिनाले ‘नेपाली चलचित्रमा कथा’ शीर्षकमा विशेष सत्र सञ्चालन गर्नुभएको थियो । उहाँले नेपाली चलचित्रको कथागत प्रवृत्ति, बदलिँदो दर्शक मनोविज्ञान, बजारको आवश्यकता, मौलिक विषयवस्तुको खोज र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने कथाको निर्माणबारे आफ्ना अनुभव साझा गर्नुभएको थियो । नेपाली चलचित्रमा कथा कमजोर हुँदा समग्र प्रस्तुति प्रभावित हुने उल्लेख गर्दै उहाँले सशक्त कथा नै सफल चलचित्रको मेरुदण्ड हुने धारणा राख्नुभएको थियो ।

तीन चरणमा सम्पन्न यस कार्यशालामा कुल ७५ जना प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । प्रत्येक संस्करणमा सहभागीहरूले समूह अभ्यास, कथाको रूपरेखा तयार गर्ने अभ्यास र प्रस्तुतीकरणमार्फत सिकाइलाई व्यवहारमा उतार्ने अवसर पाएका थिए ।

कार्यशालाबाट उत्कृष्ट कथा लेखन क्षमता देखाउने दशजना सहभागीलाई छनोट गरी आगामी दिनमा विशेष उन्नत पटकथा लेखन कार्यशाला सञ्चालन गरिने नेपाल फिल्म क्याम्पसले जानकारी दिएको छ । उक्त उन्नत तालिममार्फत चयनित सहभागीलाई पूर्ण लम्बाइको पटकथा विकास प्रक्रियासम्म पुर्‍याउने योजना रहेको बताइएको छ ।

आयोजकका अनुसार नेपाली चलचित्र क्षेत्रमा गुणस्तरीय कथाको अभावलाई मध्यनजर गर्दै सिर्जनशील र दक्ष लेखक उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । यस्ता प्रशिक्षण कार्यक्रमले नयाँ प्रतिभालाई प्रोत्साहन गर्दै चलचित्र क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

कार्यक्रमको समापनमा सहभागीले यस्ता व्यावहारिक तथा सीपमुखी कार्यशाला निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन कथा लेखनमा विशेष ध्यान दिनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार