काठमाडौं,
फागुन १५ ।
निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ अनुसार गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिसका आधारमा आयोगले गृह मन्त्रालयलाई आवश्यक निर्देशन दिएको हो ।
आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइसकेको जनाएको छ । जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ विपरीतका गतिविधि रोक्न र उल्लंघन भए तत्काल कारबाही गर्न भनिएको छ ।
मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन-एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार, सुरक्षा निकाय, विद्युत्, खानेपानी तथा ढल मर्मतका सवारी-निर्वाध सञ्चालन हुनेछन् । दूरसञ्चार मर्मत, कूटनीतिक नियोग तथा पास प्राप्त सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइनेछ । सार्वजनिक तथा निजी सवारी भने फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लगाइनेछ ।
अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान भने यथावत् सञ्चालन हुनेछन् । टिकट भएका यात्रुलाई विमानस्थल आवतजावतका लागि सहजीकरण गरिने आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ अनुसार मतदाताले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रसहित राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात देखाएर मतदान गर्न सक्नेछन् । मतदानको दिन सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा विशेष एकाइसमेत खडा गरिनेछ ।






