काठमाडौं,
फागुन १३ ।
चलचित्र ‘घरज्वाइँ’का निर्देशक अनिल बुढा मगरको दोस्रो निर्देशकीय प्रोजेक्ट ‘मितज्यू’को छायांकन सम्पन्न भएको छ । सामाजिक कथावस्तुमा आधारित यस चलचित्रको सम्पूर्ण छायांकन एक महिनामै सकिएको निर्माण पक्षले जनाएको छ । निर्माता जनक घर्तीमगरका अनुसार दाङ र रोल्पाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्र तोकिएकै समयमा सहज रूपमा सम्पन्न भएको हो ।
चलचित्रमा नेपाली रजतपटका चर्चित अभिनेता दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा देखिनुहुनेछ । यसै चलचित्रमार्फत नृत्यांगना तेरिया फौजा मगरले अभिनेत्रीका रूपमा डेब्यु गर्दैहुनुहुन्छ । उहाँहरूका साथै पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुनमगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना रानामगर, अनुशा राई, खड्गबहादुर पुनमगर (खबपु)लगायत कलाकारहरूको अभिनय रहनेछ ।
चलचित्रको छायांकन शिशिर बिशंखेले गर्नुभएको हो भने सम्पादन लोकेश बज्राचार्यले गर्नुहुनेछ । श्रीकृष्ण बम मल्लको संगीत रहेको चलचित्रका गीतमा स्वयं मल्लसहित गायिका मेलिना राई र लक्ष्मी मल्लको स्वर रहनेछ । सामाजिक कथावस्तु बोकेको ‘मितज्यू’ले दर्शकमाझ नयाँ स्वाद प्रस्तुत गर्ने अपेक्षा निर्माण टिमले गरेको छ । आरआर फिल्मस् वितरक रहेको ‘मितज्यू’ आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने तालिका तय छ ।






