पल र उषाले उद्घाटन गरे ‘फ्रेन्ड्स सिनेमाज’

इलाम,
फागुन ९ ।

इलाममा ‘फ्रेण्ड्स सिनेमा’ सञ्चालनमा आएको छ । धरान र बुटवलमा सफल सञ्चालनपछि ‘फ्रेण्ड्स सिनेमा’ले इलाममा आफ्नो तेस्रो शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । इलाम नगरपालिका-७ स्थित नगरपालिकाको बहुतले पार्किङ भवनमा निर्माण गरिएको नयाँ शाखाको शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा लोकप्रिय अभिनेता पल शाह, चर्चित अभिनेत्री उषा उप्रेती तथा द्वन्द्व निर्देशक एवं निर्माता चन्द्र पन्तको विशेष उपस्थिति थियो ।

आफ्ना प्रिय कलाकारलाई नजिकैबाट देख्न पाउँदा इलामेली दर्शकहरूको उत्साह हेर्नलायक थियो । हल परिसर दर्शकको बाक्लो उपस्थितिले भरिभराउ बनेको थियो भने हुटिङ र तालीले कार्यक्रम उत्सवमय बनेको थियो ।

सिनेमा हलमा १८८ सिट क्षमता रहेको छ । अत्याधुनिक प्रविधिसहित सञ्चालनमा ल्याइएको हलमा ‘टुके प्रोजेक्सन’ र ‘डल्बी डिजिटल साउण्ड सिस्टम’ जडान गरिएको छ । यसबाट दर्शकले काठमाडौंका महँगा मल्टिप्लेक्स सरहको ध्वनि तथा दृश्य अनुभव लिन सक्ने व्यवस्थापनले जनाएको छ ।

फ्रेण्ड्स सिनेमाका अध्यक्ष प्रदीप धामीका अनुसार, मोफसलका दर्शकलाई राजधानीस्तरको सेवा उपलब्ध गराउने लक्ष्यसहित इलाम शाखा सञ्चालनमा ल्याइएको हो । ‘अब इलामका फिल्मप्रेमीहरूलाई गुणस्तरीय सिनेमा हेर्नकै लागि झापा झर्नुपर्ने बाध्यता अन्त्य भएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले अत्याधुनिक प्रविधिसँगै आरामदायी बस्ने व्यवस्था र पारिवारिक वातावरणलाई प्राथमिकता दिएका छौँ ।’
सञ्चालक प्रदीप धामी, पुष्कर घिमिरे र आशिष एच तामाङले इलामका दर्शकलाई सुविधासम्पन्न तथा पारिवारिक वातावरणमा चलचित्र हेर्ने अवसर प्रदान गर्ने उद्देश्यले हल सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँहरूका अनुसार, नयाँ नेपाली चलचित्रहरू देशभर रिलिज भएकै दिन इलाममा पनि प्रदर्शन गरिनेछ ।

फ्रेण्ड्स सिनेमाका निर्देशक आशिष एच तामाङले सम्भव भएसम्म अन्य जिल्लामा पनि सिनेमा हल विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । नेपाली चलचित्रको बजार विस्तार गर्न घरेलु बजार सुदृढ बनाउनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले ठूला शहरबाहेकका जिल्लामा साना-साना सिनेमाघर स्थापना गर्न सके घरेलु बजार दोब्बरभन्दा बढी विस्तार हुने दाबी गर्नुभयो ।

इलाममा स्तरीय सिनेमा हलको अभाव खड्किरहेका बेला फ्रेण्ड्स सिनेमाको आगमनले स्थानीय मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थपेको अपेक्षा गरिएको छ । नयाँ हल सञ्चालनसँगै स्थानीय बासिन्दामात्र नभई इलाम भ्रमणमा आउने पर्यटकका लागि समेत मनोरञ्जनको थप गन्तव्य बनेको छ ।

यसमा तपाइको मत

अन्य समाचार