काठमाडौं,
फागुन ९ ।
कृष्ण बिक र समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘होरी’ सार्वजनिक गरिएको छ । होली पर्वको सन्दर्भमा ‘होरी’ गीतमार्फत उक्त भाकालाई प्रस्तुत गरिएको हो । सुदूरपश्चिममा प्रचलित लोकभाकालाई राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यसहित गीत तयार पारिएको जनाइएको छ ।
गीतको भिडियोमा राजेश हमाल, पूर्व मिस नेपाल उषा खड्की, मनोज महर्जन र बिन्दिया बुढाथोकीको अभिनय देख्न सकिन्छ ।
सुदूरपश्चिमको संस्कृति र पहिचानलाई विश्वसामु चिनाउने उद्देश्यले लामो तयारीपछि ‘होरी’ सार्वजनिक गरिएको निर्देशक सरोज खड्काले बताउनुभयो । गीतमा राम अबिरल बिष्टको शब्द सिर्जना तथा दीपक आरजेको संगीत छ । पवन सुस्लिङको छायांकन रहेको भिडियोको सम्पादन मिलन श्रेष्ठले गर्नुभएको हो भने कोरियोग्राफी देउ सिंह ओराले गर्नुभएको छ ।
‘होरी’ गायक कृष्ण बिकको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । डेढ दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय बिकका ‘आँखा मार्ने’, ‘रातो टिकी’, ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’, ‘यानि माया’, ‘रानी माया’, ‘राधा पियारी’ र ‘नीरमाया’लगायत दुई दर्जनभन्दा बढी गीत सार्वजनिक भइसकेका छन् ।






