काठमाडौं,
फागुन ६ ।
नेपाल राष्ट्रिय क्रिकेट टोली ले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई सात विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा ऐतिहासिक जित दर्ता गरेको छ । भारतको वानखेडे रंगशाला मा सम्पन्न खेलमा १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । यसअघि नेपालले सन् २०१४ मा अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीलाई पराजित गरेपछि विश्वकपमा जित निकाल्न सकेको थिएन ।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बन्नुभयो । उहाँले २३ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै अविजित ५० रन जोडनुभयो । गुल्सन झाले १७ बलमा एक चौका र दुई छक्कासहित अविजित २४ रन बनाउनुभयो ।
यससँगै ऐरी नेपालका लागि विश्वकपमा दुई अर्धशतक प्रहार गर्ने पहिलो तथा लगातार अर्धशतक बनाउने पहिलो खेलाडी बन्नुभयो । यसअघि उहाँले वेस्ट इन्डिजविरुद्ध पनि अर्धशतक बनाउनुभएको थियो ।
ओपनर कुशल भुर्तेलले ३५ बलमा ४३ रन (एक चौका, चार छक्का) बनाउँदै बलियो सुरुआत दिलाउनुभयो । उहाँ विश्वकपमा एकै इनिङ्समा चार छक्का प्रहार गर्ने पहिलो नेपाली ब्याटरसमेत बन्नुभयो । आसिफ शेखले २७ बलमा ३३ रन जोडन्भुयो । पहिलो विकेटका लागि भुर्तेल र आसिफले ७४ रनको साझेदारी गर्दै विश्वकपमा नेपालको उच्च ओपनिङ साझेदारी कायम गर्नुभयो ।
स्कटल्यान्डका स्पिनर माइकल लिस्कले सुरुआती तीन विकेट लिएर दबाब सिर्जना गरे पनि ऐरी र गुल्सनले संयमित ब्याटिङ गर्दै खेल नेपालतर्फ मोडनुभयो । अन्तिम ओभरमा पाँच रन आवश्यक हुँदा गुल्सनले चौका प्रहार गर्दै जित सुनिश्चित गर्नुभयो ।
यसअघि टस जितेर बलिङ रोजेको नेपालविरुद्ध स्कटल्यान्डले २० ओभरमा सात विकेट गुमाएर १७० रन बनाएको थियो । ओपनर माइकल जोन्सले ४५ बलमा ७१ रन (आठ चौका, तीन छक्का) बनाउँदै अर्धशतक प्रहार गर्नुभयो ।
स्कटल्यान्डले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै आक्रामक सुरुआत गरे पनि अन्तिम पाँच ओभरमा नेपालले ६ विकेट लिँदै ३९ रन मात्र खर्चियो ।
नेपालका लागि सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लनिुभयो । नन्दन यादवले दुई विकेट लनिुभयो भने कप्तान रोहित कुमार पौडेल र कुशल भुर्तेलले समान एक-एक विकेट हात पार्नुभएको थियो ।
लगातार तीन खेलमा पराजित हुँदै समूह ‘सी’ बाट बाहिरिएको नेपालले अन्तिम खेलमा सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको हो ।






