काठमाडौं,
फागुन ४ ।
महाशिवरात्रिको अवसर पारेर चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’ को दोस्रो पोष्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोष्टरमा प्रमुख अभिनेता सागर लम्सालसँगै डेब्यु अभिनेत्री रोशनी खड्कालाई प्रस्तुत गरिएको छ । यसअघि सार्वजनिक फर्ष्टलुक पोष्टरमा भने सागर लम्सालमात्र देखिनुभएको थियो ।
नयाँ वर्षको अवसर पारेर आगामी २७ चैतदेखि प्रदर्शनमा आउने तयारीमा रहेको उक्त चलचित्रबाट रोशनी खड्काले अभिनय क्षेत्रमा डेब्यु गर्दै हुनुहुन्छ ।
राजु गिरीको निर्देशन रहेको चलचित्रमा उमेशकुमार बस्नेतको कथा तथा लक्ष्मण सुवेदीको पटकथा तथा संवाद छ । चलचित्रमा सागर लम्साल, रोशनी खड्का, रमेश बुढाथोकी, रबिन्द्र झा, हेमन्त बुढाथोकी, विशाल पहाडी, कैलाश रावल, रबि गिरी, ध्रुव कोइराला, सावित्री चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, सुष्मा केसी, रामहरी खड्का, राजु गिरी, सुचेन्द्र परियारलगायत बालकलाकार काजोल, कंगना गिरी र रोनीश खड्काको अभिनय छ ।
कार्यविनायक फिल्म्स र उषा फिल्म्सको प्रस्तुति रहेको चलचित्रका निर्माता साबित्रा चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरी हुनुहुन्छ । श्याम तामाङको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमार थापाको संगीत, केशवराज भट्टको कोरियोग्राफी छ । नोभाइस आर्ट्सका राकेश दाहालले पब्लिसिटी डिजाइन गर्नुभएको हो भने सम्पादन गौतमराज खड्काले गर्नुभएको छ । चलचित्रलाई नेशनल सिने ग्रुप नेपालले वितरण गर्नेछ ।






