काठमाडौं,
फागुन ३ ।
गायक रामकृष्ण ढकालको निर्माणमा बनेको चलचित्र मालती मंगलेको आधिकारिक पोस्टर र प्रदर्शन मिति एकसाथ सार्वजनिक गरिएको छ । निर्माण पक्षले दिएको जानकारीअनुसार चलचित्र आगामी नयाँ वर्षको वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।
सार्वजनिक पोस्टरले चलचित्रको मूल भाव र मुख्य पात्रबीचको रसायनलाई आकर्षक ढङ्गले प्रस्तुत गरेको छ । पोस्टरमा प्रमुख कलाकारहरू विजय बराल र वर्षा राउत आत्मीय तथा प्रेमिल मुद्रामा देखनिुभएको छ । चलचित्रका निर्देशक प्रकु पाण्डेयका अनुसार ‘मालती मंगले’ विशुद्ध नेपाली पारिवारिक प्रेमकथामा आधारित छ ।
चलचित्रको कथा निर्देशक पाण्डेय स्वयंले लेख्नुभएको हो भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार गर्नुभएको छ । रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुनुहुन्छ । सहनिर्मातामा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत रहनुभएको छ ।
चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा हुनुहुन्छ । साथै प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीताश्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारको अभिनय छ ।






