चलचित्र पर्यटन प्रवर्द्धनका लागि पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

काठमाडौं,
माघ २९ ।

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा आकर्षक चलचित्र गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । दुवै निकायले यो सहकार्यले चलचित्र र पर्यटन क्षेत्रबीच दीर्घकालीन रणनीतिक समन्वयलाई संस्थागत गर्ने विश्वास व्यक्त गरेका छन् ।

विश्वभर लोकप्रिय बन्दै गएको ‘फिल्म पर्यटन’ लाई नेपालमा व्यवस्थित रूपमा विकास गर्ने लक्ष्यसहित संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाइएको छ । सम्झौताअनुसार नेपाललाई अन्तर्राष्ट्रिय फिल्मिङ गन्तव्यका रूपमा ब्राण्डिङ गर्ने, चलचित्रमार्फत चिनिएका लोकेशनलाई पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, स्थानीय अर्थतन्त्र सुदृढ गर्दै रोजगारी सिर्जना गर्ने तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालको सहभागिता विस्तार गर्ने योजना छ ।

यसैअनुसार सन् २०२६ मा हुने कान्स चलचित्र महोत्सवमा सहभागिता जनाउने, पोखरामा चलचित्र फेस्टिभल आयोजना गर्ने, अडियो–भिजुअल स्टोरिटेलिङ अभियान सञ्चालन गर्ने र चलचित्र पर्यटनसम्बन्धी प्रवर्द्धनात्मक सामग्री उत्पादन गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ । चलचित्र पर्यटनमार्फत कम परिचित प्राकृतिक तथा सांस्कृतिक सम्पदायुक्त स्थानलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने लक्ष्य लिइएको छ । चलचित्रमा देखिएका स्थान अवलोकन गर्न आउने पर्यटकबाट स्थानीय होटल, यातायात, गाइड तथा साना व्यवसाय प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार