काठमाडौं,
माघ २८ ।
नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा मुक्तककार डा. रूपक श्रेष्ठका मुक्तकसंग्रह ‘पोख्तक’ र ‘चौशूल’ माथि परिचर्चा गरिएको छ । काठमाडौंको अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रम नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव यादव भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष तथा नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष राधेश्याम लेकालीले शब्दमार्फत सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्नुभएको थियो ।
परिचर्चाका क्रममा नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार तथा समालोचक प्राडा। लक्ष्मणप्रसाद गौतमले संरचनागत दृष्टिले डा. रूपक श्रेष्ठका मुक्तक मानक मुक्तकको श्रेणीमा पर्ने बताउनुभयो । मुक्तकमा विम्ब सिर्जना गर्न कठिन भए पनि श्रेष्ठले पूर्वीय तथा पश्चिमी दर्शनका गहन विम्बालंकार प्रयोग गरी सुन्दर मुक्तक लेख्न सफल भएको उहाँको भनाइ थियो। प्राडा. गौतमले ‘चौशूल’ मा सङ्गृहीत मुक्तकहरूलाई आफूले विश्वविद्यालयमा अध्यापनका क्रममा उदाहरणका रूपमा प्रयोग गर्दै आएको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा डा. भरतकुमार भट्टराईले कृतिहरू गहन अभिव्यक्ति, प्रतीक र विम्बको सुन्दर संयोजन, अर्थगाम्भीर्य तथा व्यञ्जनात्मक प्रस्तुतिका कारण वजनदार बनेको बताउनु भयो । मुक्तक क्षेत्रमा अध्येता स्रष्टाको योगदानले विधा फस्टाएको उहाँको धारणा थियो ।
समालोचक डा. कमल देवकोटाले ‘पोख्तक’ पोखराको बहुआयामिक पक्ष समेटिएको उत्कृष्ट कृति भएको बताउँदै यसको अंग्रेजी अनुवादले नेपाली साहित्यलाई विश्वसाहित्यसँग जोड्ने बलियो सेतु निर्माण गरेको उल्लेख गर्नु भयो । उहाँले यस्ता कृतिहरू विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरिनुपर्ने आवश्यकता औँल्याउनु भयो ।
मुक्तक साम्राज्ञी उषा शेरचनले मुक्तकलाई विशिष्ट उचाइ, गरिमा र पहिचान दिलाउने स्रष्टामध्ये डा. रूपक श्रेष्ठ अग्रपङ्क्तिमा रहेको बताउनुभयो । उहाँले ‘पोख्तक’ मा शिल्पगत निखार र वैचारिक सन्तुलन देखिन्छ भने ‘चौशूल’ मा सामाजिक चेतना र वैचारिक तीक्ष्णता अझ प्रखर रूपमा प्रकट भएको उल्लेख गर्नुभयो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले मुक्तककार श्रेष्ठ लेखन र व्यवहारमा तादात्म्य भएका स्रष्टा भएको बताउँदै उहाँको लेखनमा दम र प्रामाणिकता रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमिला गजुरेल, निशा केसी, दुर्गाकिरण तिवारी, श्रीराम राईलगायतले पाठकीय अभिमत प्रस्तुत गर्नुभएको थियो । चार दशकदेखि मुक्तक, कविता र गजलमा सक्रिय डा. रूपक श्रेष्ठ नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाका संस्थापक समेत हुनुहुन्छ । नेपाली मुक्तकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउनुभएका श्रेष्ठ २०८२ सालको ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’बाट सम्मानित स्रष्टा हुनुहुन्छ ।
२०२२ माघ ६ गते जन्मनिुभएका डा. श्रेष्ठका ‘पोख्तक’, ‘चौशूल’ तथा ‘पोख्तक’ को अंग्रेजी अनुवादसहित आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । लामो समयदेखि बेलायतमा बस्दै आउनुभएका उहाँ नेपाली मुक्तकको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचानका लागि सक्रिय रहँदै आउनुभएको छ ।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानद्वारा प्रकाशित प्राडा. लक्ष्मणप्रसाद गौतमको ‘नेपाली मुक्तकको रचनाविधान’, प्रतिष्ठान बेलायत शाखाद्वारा प्रकाशित ‘ईलिंग’ स्मारिका तथा डा. रूपक श्रेष्ठका ‘चौशूल’ र ‘पोख्तक’ (अंग्रेजी संस्करण) को लोकार्पण समेत गरिएको थियो ।
कार्यक्रममा समालोचक केशव सिग्देल, प्रतिष्ठानका पूर्व महासचिव रमेश पौडेल, पवन आलोक, वियोगी बुढाथोकीलगायतले नेपाली मुक्तकको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचानबारे आ-आफ्ना धारणा राख्नुभएको थियो ।






