काठमाडौं,
माघ २४ ।
फागुन १ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘बिगुल’सँग नेपाल जेसिसले सहकार्य गर्ने भएको छ । ‘बिगुल’ का निर्माता दिनेश कोइराला र नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जीवन कार्कीबीच काठमाडौंमा एक कार्यक्रमबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । केही साताअघि सम्पन्न मोफसल प्रचारप्रसार अभियानमा नेपाल जेसिसले पुर्याएको सहयोगले आफूहरूलाई थप ऊर्जा मिलेको निर्माता कोइरालाले बताउनुभयो । कथाकारसमेत रहनुभएका कोइराला नेपाल जेसिसका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । उहाँले देश र जनताको पक्षमा सन्देश बोकेको मनोरञ्जनात्मक चलचित्र निर्माण गरिएको उल्लेख गर्दै सबै पक्षको सहयोगको अपेक्षा गर्नुभयो ।
नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष कार्कीले ‘बिगुल’ वर्तमान नेपाली समाज, परिवार, राजनीति तथा युवाको वास्तविक कथामा आधारित चलचित्र भएकाले सबै वर्ग र समुदायसम्म पुर्याउन सहकार्य गरिएको स्पष्ट पार्नुभयो । उहाँले चलचित्रको सफलताको कामना गर्दै मौलिक विषयवस्तुमा आधारित चलचित्र निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
चलचित्रका निर्देशक रमेश कोइरालाले ‘बिगुल’ भुइँमान्छेको कथा भएको र वर्तमान राजनीतिक परिवेशसँग निकै मिल्दोजुल्दो भएकाले हरेक नागरिकले हेर्नुपर्ने धारणा राख्नुभयो । चलचित्रले मनोरञ्जनसँगै देश र माटोप्रतिको प्रेम झल्काउने सन्देश दिएको उहाँको भनाइ थियो ।
वरिष्ठ अभिनेता नीर शाहले वर्तमानको यथार्थ कथामा आधारित चलचित्र कम बन्ने गरेको उल्लेख गर्दै ‘बिगुल’ को हिस्सा बन्न पाउँदा गर्व लागेको बताउनुभयो । अभिनेत्री बेनिशा हमालले आफूले चलचित्रमा चुनौतीपूर्ण भूमिका निर्वाह गरेको बताउँदै ‘बिगुल’ अन्य चलचित्रभन्दा फरक र देशप्रेमी कथामा आधारित रहेको जिकिर गर्नुभयो । अभिनेता नरेन खड्काले चलचित्रमा आफू युवा शक्तिको प्रतिनिधिका रूपमा प्रस्तुत भएको उल्लेख गर्दै सचेत र जागरुक दर्शकले चलचित्र मन पराउने विश्वास व्यक्त गर्नुभयो ।
निर्माता कोइरालाले ‘बिगुल’ मा दबिएका आवाज, अन्याय सहेर बाँचिरहेका भुइँमान्छे, भविष्यप्रति चिन्तित युवा पुस्ता र संघर्षशील महिलाहरूको चेतनालाई प्रतिनिधित्व गर्ने कथा समेटिएको बताउनुभयो । मोफसल दौडाहामा दर्शक तथा नेपाल जेसिसबाट पाएको सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले चलचित्रले समृद्ध, विकसित र युवाले नेतृत्व गरेको नयाँ नेपालको परिकल्पना प्रस्तुत गरेको बताउनुभयो ।
म्याग्नेलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा कल्पना पौडेल प्रस्तुतकर्ता रहनुभएको छ । चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, सरोज खनाल, विनोद न्यौपाने, रविन्द्र खड्का, शिशिर बाङ्देल, गीता अधिकारी, जेएन घिमिरे, मानुषी शर्मा तथा नवअभिनेत्री मिरा पण्डितलगायतको अभिनय छ ।
चलचित्रको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेख्नुभएको हो भने छायांकन शिव ढकालले गर्नुभएको छ । गीतमा अर्जुन पोखरेल, विश्वप्रकाश शर्मा र मनोज चौलागाईंको संगीत छ । चलचित्रको सम्पादन तारा थापा किम्भेले गर्नुभएको हो । राजधानीमा काफिया फिल्मस् र मोफसलमा ब्यांगकेट्स इन्टरटेनमेन्टले चलचित्र वितरण गर्दैछ ।






